तीन ‘क’ को संयोगः कीर्तिपुर, क्रिकेट र कीर्तिमान
काठमाडौँ – कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदान नेपाली क्रिकेट टिमका लागि कीर्तिमान बनाउने उत्कृष्ट थलो बनेको छ । मैदानमा नेपालले एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को कीर्तिमान बने ।
एकदिवसियमा सर्वाधिक रनदेखि टी–ट्वान्टीमा ह्यट्रिक विकेट लिने कीर्तिमान कीर्तिपुर मैदानमै बनेका छन् । एकै खेलमा सार्वधिक विकेट लिने कीर्तिमान पनि यही मैदानमा बनेको छ ।
यस हिसाबले हेर्ने हो भने कीर्तिपुर मैदान नेपाली क्रिकेटका लागि कीर्तिमान बनाउने उत्कृष्ट थलो बनेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले सर्वाधिक २८६ यही मैदानमा जोडेको छ । सन् २०२२ मार्च २५ मा नेपालले पपुवा न्यूगिनी (पीएनजी) एकदिवसियको सर्वाधिक रन जोडेको थियो ।
नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित पौडेलको नाममा रहेको छ । यो कीर्तिमान कीर्तिपुरमै बनेको हो । पौडेलले मार्च २५ मा पीएनजीविरुद्ध १२६ रन जोड्दै उक्त कीर्तिमान कायम गरे ।
विकेटको हिसाबले नेपालले सर्वाधिक ८ विकेटको जित दर्ता गरेको छ, त्योपनि कीर्तिपुरमै । सन् २०२० फेब्रुअरी १२ मा नेपालले अमेरिकालाई यही मैदानमा ८ विकेटले पराजित गरेको थियो ।
दिपेन्द्र सिंह ऐरीले पनि आफ्नो पहिलो शतक कीर्तिपुरमै पुरा गरे । उनले पीएनजीविरुद्ध २०२२ मार्च २६ मा १ सय ५ रन जोडे ।
नेपाली टिमका कप्तान सन्दीप लामिछानेले नेपालका लागि एकदिवसीयमा ५० विकेट लिने पहिलो बलरको कीर्तिमानै बनाएका छन् । उनले २०२२ मार्च २६ मा पीएनजीविरुद्ध ५० विकेट पुरा गर्दै उक्त कीर्तिमान कायम गरे । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो खेलाडी समेत बने । उनले २२ खेलमा ५० विकेट लिदा श्रीलंका अजन्था मेन्डीसले १९ खेलमै ५० विकेट लिएका थिए ।
नेपालका लागि एकदिवसीयमा सर्वाधिक १ सय २९ रनको साझेदारी पनि कीर्तिपुरमै बनेको छ । पीएनजीविरुद्ध २०२२ मार्च २६ मा देव खनाल र दिपेन्द्र सिंह ऐरीले १ सय २९ रनको साझेदारी गरे । सोही खेलमा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रन जोड्दै एकदिवसीयमा पहिलो शतक प्रहार गरे ।
सन्दीप लामिछानेले एकै खेलमा सर्वाधिक ६ विकेट पहिलो पटक कीर्तिपुर मैदानमै लिएका थिए । उनले सन् २०२० को फेब्रुअरी १२ मा अमेरिकाविरुद्ध ६ विकेट हात पारेका थिए ।
यता टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पनि नेपालले कीर्तिपुरमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियको ५० औं खेल नेपालले कीर्तिपुरमै खेल्यो । नेपालले ५० औं खेल पीएनजीविरुद्ध २०२२ मार्च ३१ मा खेलेको थियो ।
सोही खेलमा करण केसीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो ह्याट्रिक तथा पहिलो ५ विकेट लिने खेलाडी बन्न सफल भए । पीएनजीविरुद्ध नै करण टी–ट्वान्टीमा ५० विकेट पुरा गर्ने सन्दीप लामिछानेपछि दोस्रो खेलाडी समेत बने ।
अर्कोतर्फ टी–ट्वान्टी अन्र्तराष्ट्रियमा नेपालले एकै खेलमा सर्वाधिक २ सय ३८ रन बनाएको छ र त्यो पनि कीर्तिपुरमै ।
नेपालले २०२१ अप्रिल २४ मा नेदरल्यान्ड्सविरुद्ध ३ विकेट गुमाएर २३८ रन जोडेको थियो । नेपालले उक्त खेल १४२ रनले जितेको थियो । नेपालका लागि उक्त जित सर्वाधिक रनको जित पनि हो ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियको एक अर्को कीर्तिमान दिपेन्द्र सिंह ऐरीको नाममा रहेको छ । दिपेन्द्र टी–ट्वान्टीमा नेपालका लागि एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । कीर्तिपुरमै मलेसियाविरुद्ध २०२२ मार्च २ मा अविजित १ सय १० रन जोड्दै दिपेन्द्रले उक्त कीर्तिमान बनाए ।
त्यसैगरी, कुशल भुर्तेलले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ५ सय रन पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । उनले १२ खेलमै ५ सय रन पुरा गरे । जबकी यस अघि भारतका केएल राहुलले १३ खेलमा ५ सय रन पुरा गरेका थिए । उक्त कीर्तिमान पनि कीर्तिपुरमै बनेको छ । मार्च २८ मा पीएनजीविरुद्ध खेल्दै कुशलले विश्व कीर्तिमान बनाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया