अपराध

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

इकागज |
जेठ २५, २०७९ बुधबार १४:१२ बजे

फाइल फोटो

सप्तरी - श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।

इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।


घटना लगत्तै शंका लागेर पक्राउ परेकी इनरवतीविरुद्ध ठोस प्रमाणको अभावमा प्रहरीले तत्काल छाडेको थियो । 

गाँजाकै सङ्गतले महतो र मियाँको मित्रता बढेको थियो । मियाँ जनतान्त्रिक तराई मुक्ती मोर्चा गोईत समूहमा आबद्ध थिए । विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्काई चन्दा असुली गर्ने कार्यमा मियाँ सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । बिष्णुपुर–७ बाट एक थान पेस्तोल र गोईत समुहको मोर्चाको पर्चा पम्प्लेटसहित मियाँ पक्राउ परेर छुटेका थिए ।
    
लुकिछिपी मोर्चाको भूमिगत गतिविधि गर्न मियाँले महतोको घरलाई आश्रयस्थलका रूपमा प्रयोग गर्थे । सोही क्रममा महतोकी श्रीमतीसँग मियाँको चिनजान भएको थियो । महतो भोज भतेरमा खाना बनाउने काम गर्थे । घटनाका दिन बिहान महतोलाई खाना बनाउन मियाँ र डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका रोशन साहले घरबाटै बोलाएर लगेका थिए ।

निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि मियाँ गत वैशाख २३ गते पक्राउ परेका थिए । इनरवती एक महिनापछि गाउँबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव काफ्लेले बताए । 


Author

थप समाचार
x