अपराध

हिराेइन बन्‍ने प्रलाेभन पाएकी बालिका भारतमा बेचिइन्

इकागज |
असार २५, २०७९ शनिबार १७:१९ बजे

पर्सा- मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ ठेगाना भई हाल पर्सा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीया चमेली देवी र भारत विहार सितामढी बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् । 

अनुसन्धानको क्रममा उनीहरूले १५ वर्षीया बालिकालाई भोजपुरी मुभीको हिरोइन बनाइदिने प्रलोभन देखाई भारतको बिहार राज्य पूर्वी चम्पारण झिटकैया गाउँमा लगेका थिए । हाल फरार रहेका एक जना भारतीय नागरिकलाई ३० हजार भारतीय रूपैयाँमा बिक्री गरेको प्रहरीले जनाएकाे छ ।


फरार व्यक्तिले पीडित बालिकालाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाई शारीरिक र मानसिक यातना दिएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । 

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ भने हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । 

 


Author

थप समाचार
x