अपराध

सडक बालबालिकालाई फकाएर मृगौला बेचबिखनमा संलग्न पाँच जना पक्राउ

मृगाैला दिएवापत ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट

इकागज |
साउन १, २०७९ आइतबार १४:३१ बजे

काठमाडौँ - प्रहरीले मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । 

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरूलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो । 


व्यूराेले गरेकाे पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिँदै

भारतमा गएर मृगौला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरूलाई भारत लैजाने तयारी भईरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । 

पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि ब्यूरोले जनाएको छ ।

 


Author

थप समाचार
x