अपराध

हत्या आरोपमा श्रीमान्, ससुरा र देवर पक्राउ

सुभाष कर्ण |
साउन ६, २०७९ शुक्रबार २०:२९ बजे

जनकपुरधाम- प्रहरीले सर्लाहीबाट श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित तीनजनालाई पक्राउ गरेको छ ।

जिल्लाको पर्सा गाउँपालिका १ का बालदत्त भन्ने रमजेशकुमार रायकी श्रीमती २० वर्षीया निशा यादवको हत्याको आरोपमा श्रीमान् बालदत्तसहित ससुरा राम प्रताप राय र देवर राजु यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


गत जेठ २२ गते रातिदेखि आफ्नो घरबाट हराएकी निशाको शुक्रबार बिहान शव फेला परेको थियो । घरबाट निशा बेपत्ता भएपछि बुवा कैलाश रायले छोरी हराएको भन्दै जेठ २३ गते र ससुराले बुहारी हराएको भन्दै जेठ २४ गते प्रहरीमा खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्रहरीमा निवेदन परेपछि खोजतलाश गर्ने क्रममा घर परिवार तथा शंकास्पद व्यक्तिहरुसँगको सोधपुछ तथा प्रविधियुक्त छानबिनको क्रममा निशाको घर परिवारका सदस्यहरुमाथि नै शंका लागेपछि श्रीमान्, ससुरा र देवरलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा सोधपुछ गर्दा उनीहरुले हत्या गरेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवल तीनैजनाले निशाको हत्या गरेर घरदेखि करिव ४ किलोमिटर पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा खाल्डो खनी निशाको शव पुरेको बयान दिएको बताएका छन् ।

शुक्रबार विहान तिनीहरुको बयानको आधारमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक प्रवीण पोखरेलसहितको टोली आरोपितले देखाएको स्थानमा धान रोपेको खेतको आली छेउमा ६ फिटभन्दा बढी गहिराईसम्म खाल्डो खन्दा जलेको अवस्थामा निशाको शव फेला परेको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिएका छन् ।

निजहरुले देखाएको स्थान धान रोपेको खेतको आली छेउमा लम्बाई ५ फिट ३ ईन्च, चौडाई ४ फिट १ ईन्च र गहिराई ६ फिट २ ईन्च खाल्डो खन्दा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडी तथा सडेगलेको अवस्थामा शव फेला पारेको उनले बताए ।

हत्याको कारण अहिले नखुले पनि दाइजोको कारण हत्या गरिएको हुन सक्ने अनुमान गरिँदैछ । तर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता यादवले बताएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x