एक हजार रुपैयाँ चोरेको निहुँमा कुटेर श्रीमतीको हत्या
बुटवल - एक हजार रुपैयाँ चोरेको भन्दै रुपन्देहीमा श्रीमानले आफ्नै पत्नीको कुटेर हत्या गरेका छन् । पतिको कुटाइबाट कञ्चन गाउँपालिका १ डेलरकी ३१ वर्षीया सावित्री थापा क्षेत्रीको मृत्यु भएको हो ।
हत्याको आरोपमा प्रहरीले उनका पति ३३ वर्षीय यमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार मृतकका श्रीमान् यमबहादुरले अघिल्लो दिन साँझ मादक पदार्थ सेवन गरेर आएपछि पत्नी सावित्रीले पनि एक हजार रुपैयाँ राखेको स्थानबाट निकालेकी थिइन् ।
सावित्री भुइँमा सुतिरहेको बेला बिहान यमबहादुर थापा उठेर पैसा गन्दा एक हजार कम भएपछि उनले पत्नीलाई उठाएर पैसा नसोधी लगेको भन्दै कुटपिट गरेका थिए । यमबहादुरलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान सावित्री मृत अवस्थामा भेटिएको भन्ने खबर पाएपछि गएको प्रहरी टोलीले उनको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू र कोठामा रगतका छिटाहरू भेटिएको र शरीरका विभिन्न भागमा निलडामहरूसमेत देखेपछि पति यमबहादुरलाई पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया