अपराध

भिजिट भीसाको दुरुपयोग गरी मानव बेचबिखनमा गिराेह नै सक्रिय

इकागज |
भदौ १५, २०७९ बुधबार २०:१६ बजे

काठमाडौं– फ्रि–टिकट र फ्रि–भिसाको प्रलोभन दिई कुवेतमा घरायसी कामका लागि गैर बाटो भई मानिसहरु लैजाने गरेको पाइएको छ । त्रिभुवन विमानस्थलमा भिजिट भीसाको प्रयोगबाट कुवेत जान लागेकाहरुलाई सोधपुछ गर्दा यस्तो पाइएको हो ।

नेपालका विभिन्न स्थानबाट विभिन्न मिति र समयमा केही महिला तथा पुरुष मानिसहरुलाई काठमाडौ ल्याउने र विदेश जान चाहिने आवश्यक कागजातहरु समेत आफैँले तयार गरिदिने गरेको पाइएको नेपाल प्रहरीको मानब बेचबिखन ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार राम्रो तलब दिने प्रलोभनमा पारेर मानब बेचबिखन भएको हुने गरेको पाइएको बताए ।


यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भीसामा जान लागेका झण्डै दुई सय व्यक्तिको कागजात शङ्कास्पद देखिएपछि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो ।    
    
उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा ३९ जनालाई नक्कली कागजात बनाएर भ्रमण भिसा दिई कुवेतमा बेचविखन गर्न लागेको खुलेको मल्लले जानकारी दिए । त्यसमा केही व्यक्ति संलग्न रहेका पाइएकाले उनीहरुको खोजीकार्य सुरु भएको उनले बताए ।    
    
नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा यही भदौ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो । पीडितलाई फ्रि–भिसा फ्रि–टिकटमा कुवेतमा घरायसी काममा लगाइदिने र आकर्षक तलब मिल्ने प्रलोभन दिइएको पाइएको छ । ती गिरोहले पीडितको आवश्यक पासपोर्टलगायतका कागजातसमेत आफैँ बनाई महिला र पुरुषलाई काठमाडौँमा ल्याएर राख्ने गरेको खुल्न आएको छ ।    
    
उनीहरुका कागजात जाँच गर्दा नक्कली रहेको फेला परेको छ । गैरकानूनीरूपमा कुवेत लैजान लागेको पुष्टि भएपछि पीडितले आवश्यक कानूनी कारवाहीका लागि ब्युरोमा जाहेरी दिएको मल्लले बताए । गैरकानूनी रुपमा बेचबिखन गर्ने उद्देश्यले मानिसहरुलाई दुुवई हुदै भिजिट भिषामा कुवेत पठाउन लागेको उनले जनाए ।

पीडितहरुलाई प्रहरीले विदेश जानबाट रोक लगाई माईती नेपालको कार्यालयमा राखेको छ । साथै उनीहरुलाई आवश्यक कानूनी परामर्श दिइएको छ । उनीहरुले गैरकानूनी रुपमा गैरबाटो हुदै कुवेत लैजाने कार्यमा संलग्न व्यक्तिहरु विरुद्ध उजुरी दर्ता गरेका छन् ।
    
आरोपीमाथि मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ । उनीहरुको नाम भने ब्युरोले खुलाएको छैन ।    


Author

थप समाचार
x