एक लाखको फिरौती १० हजारमा सहमति, पैसा दिएलगत्तै साथीको हत्या
जनकपुरधाम- असोज २८ गते बिहान १० बजे । सिरहाका कृष्णा सदाको मोबाइलमा फोनको घण्टी बज्यो । आवाज आयो–‘अंशु हाम्रो कब्जामा छ, एक लाख रुपैयाँ फिरौती दिनु नत्र मारिदिन्छु ।’
कृष्णा झस्किए । अंशु कृष्णाका साला हुन् ।
सिरहाको गोलबजार- ३ का १७ वर्षीय अंशु सादा करिब पाँच दिनअघि आफ्ना केही साथीसँग विराटनगर घुम्न जान भनेर निस्किए । आफ्नै साथीहरूसँग गएकाले २/३ दिन घर नर्फकँदा पनि परिवारले खासै चासो राखेनन् ।
अंशु भाटभटेनी घुम्न भनेर घरबाट निस्किएका थिए । तर, जब भिनाजु कृष्णाको मोबाइलमा फोन आयो, त्यसपछि भने परिवारमा सन्नाटा छायो ।
सो फोन आएलगतै ईलाका प्रहरी कार्यालय गोलबजारमा अंशु अपहरणमा परेको भनी निवेदन दर्ता गरेको भिनाजु कृष्णाले बताए । निवेदन दर्तालगतै प्रहरी सक्रिय भयो फिरौतीका लागि आफ्नो मोबाइलमा आएको नम्बर ट्रेस गर्दा सो नम्बर विराटनगरमा रहेको खुल्यो । प्रहरीले गरेको प्लानिङ हिसाबले बार्गेनिङ गर्दै १० हजारमा कुरा टुंगियो । ‘हामीले अपहरणकारीले माछापुच्छ्रे बैंकमा भनेका व्यक्तिको नाममा रहेको खातामा १० हजार रुपैयाँ बिहीबार दिउँसोतिर रकम पठायौं’ उनले भने ।
‘प्रहरीकै योजना अपहरणकारी रकम झिक्न नपाओस् भनेर हामीले बिहीबार दिउँसोतिर रकम पठायौं,’ उनले भने । सो बीचमा ईप्रका गोलबजारले मोरङ्ग प्रहरीलाई घटनाबारे जानकारी गराई सक्रिय बनायो । अपहरणकारी शुक्रबार रकम झिक्न जाँदा मोरङ प्रहरीले विराटनगरस्थित बैंकबाट तिनीहरूलाई पक्राउ गर्योे ।
धनुषाको कमला नगरपालिका- ६ का प्रशान्त मण्डल, सोही ठाउँका रमेश ठाकुर र मोरङको रतुमाई नगरपालिका- ५ सेजुवाका मनोज कार्की पक्राउ परेका हुन् ।
रकम पठाएको दिन रातिसम्म ती अपहरणकारीहरूसँग कुरा हुँदा रकम भेट्ने बित्तिकै छाडिदिने सहमति भएको थियो ।
तर, उनीहरूले रकम बैंकमा पठाएकै दिन अंशुको हत्या गरिसकेका रहेछन् । हत्या गर्नेहरू अंशुकै साथी हुन् ।
विराटनगरस्थित भाटभटेनी घुम्न जाउँ भनी घरबाट सँगै घुम्न निस्केका अंशुको साथीहरूले फिरौती रकम समयमा नपाएपछि हत्या गरे । घटनामा संलग्न अन्य शंकास्पद शिवकुमार मण्डल र विकास मण्डलसहितका दुई जना फरार रहेको र तिनीहरूको खोजी कार्य तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रवक्ता टीकाबहादुर कार्कीका अनुसार अंशुको शव विराटनगर बसपार्कमा शुक्रबार बिहान एक बाकसमा राखिएको अवस्थामा बरामद भएको छ ।
उनीसँगै घुम्न आएका साथीहरूले नै बन्धक बनाई अंशुको घर परिवारसँग रकम फिरौती माग गरेको नदिँदा हत्या गरेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता कार्कीले बताए ।
हत्याका आरोपितहरूले रकम पठाएको छ भन्ने आफूहरूलाई विश्वास नभएको प्रहरीसामू बताएका छन् । ‘आफूहरूविरुद्ध षडयन्त्र गरिरहेको शंका भएपछि हत्या गर्यौं ।’ उनीहरूको भनाई उदृत गर्दै प्रहरी अधिकारीले भने, ‘पछि बैंकमा रकम आएछ कि झुटाे भनिरहेका छन् भन्ने बुझ्न गएका थियौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया