भू-माफियासँग मिलेर गुठीको जग्गा कौडीको भाउमा बिक्री
'महन्त'को आवरणमा अपराध : सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख 'ट्रान्सफर'
जनकपुरधाम– धार्मिक मठ मन्दिरको संरक्षण र पूजा–पाठ व्यवस्थापननिम्ति महन्त तोक्ने परम्परा छ । धनुषा, महोत्तरीका मठ मन्दिर पनि महन्त तोक्ने कार्य दशकौंदेखि चल्दै आएको छ । तर, ती महन्तहरू मठ–मन्दिरको जग्गा संरक्षण गर्नुको सट्टा जग्गा बेचविखन गर्ने भू—माफिया र किर्ते जालसाजीदेखि अपराधकर्ममा समेत संलग्न हुने गरेको पछिल्ला घटनाहरूले देखाउँछ ।
पछिल्लो पटक आइतबार महोत्तरीको मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मन्दिरका मानमहन्त जगन्नाथ दास वैष्णव किर्ते हस्ताक्षर मुद्दामा पक्राउ परेका छन् । महन्त जगन्नाथ किर्ते जालसाजी गरेको मात्रै होइन उनीमाथि मन्दिरको जग्गा कौडीको भाउमा बेचेको मुद्दा समेत चलिरहेको छ ।
महन्त जगन्नाथ मात्रै होइन, जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव पनि भू–माफियाकै सूचीमा छन् भने जनकपुरधामकै रत्नसागर मन्दिरका महन्त वैकुण्ठ दास वैष्णवविरुद्ध हत्याका अभियुक्त बनेका छन् । अदालतबाट कैद सजाय पाएका वैकुण्ठ फरार छन् । उनले पनि मन्दिरको जग्गा बिक्री गरेका छन् ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी बैंकमा रोक्का रहेको खाताबाट कात्तिक ४ मा ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा जनकपुरधामका श्रवण यादवको नाउँमा ट्रान्सफर गरेको आरोपमा महोत्तरी प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृृष्ण पँगेनीका अनुसार, करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका अन्य निकायहरूमा मुद्दा परेपछि महन्त दासको नाउँमा रहेको बैङ्क खाता तथा अन्य सम्पत्तिहरू रोक्का गरिएको थियो ।
महन्तको आवरण अपराध
जनकपुरको बिरखकुटीको राधाकृष्ण मठका महन्तसमेत रहेका बैकुण्ठदासमाथि मूर्ति बेचेको, कर्तव्य ज्यान, नक्कली नागरिकता, किर्ते हस्ताक्षरलगायतका मुद्दा अदालत, अख्तियार, प्रशासन कार्यालयमा चलिसकेको छ । अधिकांश मुद्दामा उनले सफाइ पाएका छन् । तर २०६७ कात्तिक ११ मा महोत्तरीका निमित्त शिक्षा अधिकारी लालकिशोर झाको हत्याको प्रमुख योजनाकार मानेर उच्च अदालत जनकपुरले १२ वर्ष कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनी फरार थिए ।
झा लक्ष्मीनारायण मठका महन्त जगन्नाथदास वैष्णवका भतिजा हुन् । मठको जग्गा बिक्री गर्ने जिम्मेवारी उनकै रहेको थियो । जग्गा खरीद–बिक्री विवादमै उनलाई मारिएको र त्यसमा वैकुण्ठदास मुख्य योजनाकार रहेको उच्च अदालतको ठहर छ ।
आपराधिक क्रियाकलापमा महन्त वैकुण्ठ मात्रै नभई रामतपेश्वर दास र जगन्नाथ जस्ता महन्तहरू पनि छन् । हत्या, जग्गा किर्ते र यौन दुर्व्यवहारको घटनामा यहाँका साधुहरू सजाय काटिरहेका छन् । बाह्र बिघाभन्दा दक्षिणमा रहेको तुलसी स्मारकका पुजारी शिवशंकर दासमाथि बालिका यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
मन्दिरको सम्पत्ति विवादकै कारण मटिहानीस्थित लक्ष्मीनारायण मठका तत्कालीन मानमहन्त देवादासको सीमावर्ती भारतीय गाउँमा हत्या गरिएको थियो भने २०२९–२०३० सालमा जनकपुर पेठिया गाछीस्थित गिरनारी कुटीका महन्थ रवि गिरी र उनका चेला वीर गिरीलाई मन्दिरको जग्गा विवादमै एकैरात हत्या गरी मन्दिरकै सन्दुकमा राखिएको अवस्थामा शव फेला परेको थियो ।
२०३८ सालमा जानकी मन्दिरको उत्तरी ढोकामा रहेको इनारमा स्थानीय जोगी साहको शव फेला परेको थियो । सो घटनालाई दबाइए पनि जग्गा विवादकै कारण हत्या भएको मानिँदै आएको छ ।
बिहारकुण्डका महन्त रामपुकार शरणलाई पनि जग्गा सम्पत्ति विवादकै कारण गोली हानी हत्या गरिएको थियो ।
मटिहानी स्थानको नाउँमा रहेको जनकपुरधामको वडा नंं. ८ र ७ को बजरंग चोक भन्दा पश्चिम भागमा रहेको कैयौ बिघा जग्गा बिक्री गर्ने क्रममा महन्त दासको भातिज तत्कालीन महोत्तरी जिल्ला शिक्षा कार्यालयका अधिकृत लाल झाको हत्या समेत भएको थियो । जसको आरोप रत्नसागर मन्दिरका महन्त वैकुण्ठमाथि छन् ।
महन्तहरू भू–माफियामा परिणत हुँदै
महन्त जगन्नाथ दासले गुठी संस्थानको सयौँ बिघा जग्गा बिक्री गर्नुका साथै पछिल्लो पटक जनकपुरधामको दशरथ मन्दिर परिसरको जग्गा डा. जामुनप्रसाद सिंहको नाममा दुई जना चिकित्सकलाई बिक्री गरेपछि जनकपुरधाममा बहसको विषय बनेको छ । चलन चल्तीको प्रति धूर १० लाख भन्दा बढी मूल्य रहेको ७ कट्ठा ५ धुर भन्दा बढी जग्गा कपाली तमसुक गरी बेचेको आरोप जगन्नाथमाथि छ ।
महन्त जगन्नाथले रुपन्देहीको सिद्धार्थ नगरनगरपालिका गल्लामन्डीस्थित रामजानकी मन्दिरले भोगचलन गर्दै आएको कित्ता नम्बर १६५ को ३ कट्ठा ५ धुर जग्गा वैशाख १६ गते सिद्धार्थनगरकै उदयमान पाण्डे र सञ्जयप्रसाद पाण्डेलाई ६१ लाख रुपैयाँमा बिक्री गरेका छन् । जसको चल्नचल्ती मूल्य तीन करोड रुपैयाँ भन्दा बढी पर्ने स्थानीयको अनुमान छ । यी जग्गा बिक्रीको गरेको मुद्दामा उनको बैंक खाता रोक्का भएपछि सहायक प्रजिअको किर्ते हस्ताक्षर गरेको आरोपमा उनी पक्राउ परेको हुन ।
उनले मठमन्दिरका सार्वजनिक जग्गा नापी, मालपोत र गुठीका कर्मचारीको मिलोमतोमा २० वर्षयता २५ बिघा भन्दा बढी बहुमूल्य जग्गा बिक्री गरिसकेको महन्त निकट श्रोतको भनाइ छ । जनकपुरधाममा मात्रै महन्त जगन्नाथले चल्नचल्तीको तीन अर्ब मूल्य बराबरको धनुषा, महोत्तरी र सर्लाहीको मन्दिरको नाममा रहेको कयौं बिघा जग्गा बिक्री गरिसकेको गुठीको तथ्यांकमा उल्लेख छ ।
२०५३ सालमा सरकारको निर्णय अनुसार ७५ प्रतिशत छुटमा मटिहानी मठको ४ सय ५० बिघा मोही जग्गा बेचिएको थियो । वर्षेनी ९ हजार मन धान असुल हुने मटिहानी मठमा मोही तथा भाडामा लिएकाहरूले जग्गाको कुत समेत तिर्दैनन् । यो मठ र यहाँका जग्गा गुठी अधिनस्थ भए पनि छुट गुठीमा भएको कारण जग्गाहरूको संरक्षण गर्ने जिम्मेवारी र अधिकांश जग्गा आफ्नो नाममा गरेका कारण बिक्री–वितरण गर्दै आएको मन्दिर श्रोतको भनाइ छ ।
गुठी संस्थान र मानमहन्थ जगन्नाथको मिलोमतोमा मटिहानी मठकै काठमाडौंको असन तलासी मठका ५ सय रोपनी जग्गा बिक्री भइसकेका छन् भने मन्दिरको ३ वटा घर समेत लोप भइसकेको छ । जनकपुरधाम–८ स्थित जसपा नेता डा. सुरेन्द्र यादवलाई ९० वर्षको लिजमा अस्पताल सञ्चालन गर्न जग्गा उपलब्ध गराएका छन् ।
मठका गुरु कौशल किशोरको मृत्युपछि २०५४ देखि जगन्नाथले मठमन्दिरले प्रयोग गर्दै आएको जग्गा कौशल किशोरलाई बुबा बनाएर आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन् । मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गर्दै आएको आरोप छ ।
तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायणको दरबारलाई एक हजार तीन सय बिघा जग्गा दान गरेका थिए । हाल सयौं कित्ता जग्गा मठका महन्त जगन्नाथदास वैष्णवले स्वआर्जनको नाममा र पुरानो मितिमा ‘वार्षिक धानबाली लिने सम्झौता’को कागज बनाई अवैध रूपमा बिक्री–वितरण गर्दै आएका छन् ।
महन्त जगन्नाथ मात्रै होइन, जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर र रत्नसागर मन्दिरका वैकुण्ठ पनि सयौं बिघा जग्गा बिक्री गरिसकेका छन । जानकी मन्दिरका महन्त रामतपेश्वर मन्दिर पछाडिकै फुलबारीको जग्गा श्रीरामजानकी अस्पताललाई ९० वर्षको लिजमा अर्बौको जग्गा कौडीको भाउमा दिइएको छ । कपालमोचनी नजिकको १० कट्ठाभन्दा बढी देवी चोक लगायत जनकपुरधाम भित्रै कयौं बिघा जग्गा स्वआर्जन पूजा खर्चको नाममा बिक्री गरिसकेका छन् । वैकुण्ठ दासले पनि विरखकुट्टीको मूर्तिदेखि जग्गा जनकपुरधाम–८ स्थित कयौं विग्घा बिक्री गरिसकेका छन्।
जगन्नाथको नागरिकता जाली रहेको आशंका
मटिहानीमठको मानमहन्त भएको आवरणमा जग्गा सहितका सम्पत्ति बेचविखन गरेका मान महन्त जगन्नाथको नागरिकता पनि जाली रहेको आशंका गरिएको छ । गुरुलाई जन्म दिने बाबु बनाई नागरिकता लिएको देखिएको छ । महन्त जगन्नाथको बुवाको नाम देवनारायण झा हुन्, तर नागरिकतामा उनको बुवा नाम गुरु कौशलकिशोर दास लेखिएको छ । उनले हालसम्म ३ पटक नागरिकताको प्रतिलिपि लिइसकेका छन् ।
मठको जग्गा निजी पार्ने र बिक्री गर्ने उद्देश्यले नै बाबुको नाम श्रीमान महन्त कौशलकिशोरदास वैष्णव जनाएर मिति २०५४।४।८ मा नागरिकताको प्रमाणपत्र लिएको देखिन आयो । नागरिकताको शीरमा तेस्रो पटक प्रतिलिपी भनी २०६१।२।१९ जनाएको देखिन्छ । मूलप्रति के हो भन्ने छानबिनको विषय बनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया