टिकटकबाट खेलाउन थालियाे जुवा, चार जना पक्राउ परे
काठमाडौं- ललितपुर महानगरपालिका-१७ स्थित ग्वार्कोमा बस्ने ऋषि प्रकाश योगीले दुईवटा टिकटक एकाउण्ट चलाउँछन् जुनबाट उनी जुवा खेलाउँथे । दाङकाे राप्ती गाउँपालिका वडा नं. ३ का याेगीले पब्जी र पब्जी २ नामकाे एकाउण्टबाट जुवा खेलाई विभिन्न व्यक्तिहरुलाई इसेवामा पैसा जम्मा गर्न लगाउँथे । पछिल्लाे दस दिनमा उनले २८ लाख ७३ हजार ३ सय ५४ बराबरको रकम टिकटक लाइभमा जुवामार्फत् कारोबार गरे।
त्यस्तै भक्तपुर सुर्यविनायकका कपिल गिरी पनि पाेक किङ नामकाे टिकटक आइडी चलाउँछन् । याे आइडीबाट उनी पनि जुवा खेलाउँछन् । ३ वटा इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई जम्मा १० दिनको अवधिमा रु.१० लाख ५२ हजार ९ सय ६२ बराबरको रकम कारोबार गरेको देखिएको छ।
भक्तपुर मध्यपुर ठिमीका प्रेम कठायत र डिल्लीराज अवस्थीले पनि प्रेम नामक आइडीबाट जुवा खेलाउँछन् । इसेवामा विभिन्न व्यक्तिहरुलाई पैसा जम्मा गर्न लगाई उनीहरुले जुवा खेलाउने गरेका हुन् ।एक महिना ६ दिनको अवधिमा रु. ९३ हजार २ सय १४ बराबरको रकम कारोबार उनीहरुले गरेका छन् ।
यसरी उनीहरुले अवैध रुपमा अनलाइन जुवा खेलाइरहेकाे सूचना पाएपछि प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो । ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद काेइरालाले जानकारी दिए ।
उनीहरुलाई मुलकी अपराधसंहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाइएको उनले बताए ।
उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया