अपराध

जनकपुरका दाजुभाइको अपहरणपछि हत्याः दुई नेपाली र तीन भारतीय पक्राउ

इकागज |
माघ ८, २०७९ आइतबार १६:११ बजे

काठमाडौं– जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् । उनले नेपालबाट घटनामा संलग्न भएको आशंकामा २ जना नेपाली नागरिक र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । 


१३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । उनीहरु दाजुभाइ हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र सुुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए। अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएको र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए । 

उनले भारततर्फबाट घटनामा संलग्न भएको आशंकामा ३ जना नियन्त्रणमा लिएको अझै केही फरार भएकाले खोजि कार्य जारी रहेको बताए । भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरि नसकेको उनले बताए । 
 


Author

थप समाचार
x