मानव अधिकार उल्लंघनका घटना वृद्धि
मधेशमा एक वर्षमा ९१ जनाको हत्या, २२९ जना बलात्कृत
प्रतिकात्मक तस्बिर
जनकपुरधाम - मधेश प्रदेशमा मानव अधिकार उल्लंघनका घटना वृद्धि भएका छन् । बलात्कारको घटनामा सामान्य कमी आए पनि हत्या घटना ह्वातै बढेको तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांकअनुसार सन् २०२१ को तुलनामा हत्याका घटना बढेका छन् । सन् २०२१ मा हत्याका ७४ वटा घटना भएकोमा २०२२ मा ९१ जनाको हत्या भएको छ ।
राज्य पक्षबाट दुई र गैरराज्य पक्षबाट एक नवजात शिशुसहित ९१ जनाको हत्या भएको इन्सेकले जनाएको छ । सन् २०२१ मा ७४ जनाको हत्या भएको थियो । तथ्यांकअनुसार प्रदेशका धनुषा र सर्लाहीबाहेक सबै जिल्लामा हत्याको घटना बढेका छन् ।
धनुषामा २०२१ मा २० जनाको हत्या भएको थियो भने २०२२ मा १५ जनाको हत्या भएको । त्यस्तै सर्लाहीमा १३ बाट घटेर नौ जनाको हत्या भएको छ । सन् २०२१ मा सप्तरीमा आठ, सिरहामा नौ, महोत्तरीमा ६, रौतहटमा पाँच, बारामा आठ र पर्सामा पाँच जनाको हत्या भएको थियो । २०२२ मा सप्तरीमा ११, सिरहामा १४, महोत्तरीमा ११, रौतहटमा आठ, बारामा एक शिशुसहित १७ र पर्सामा ६ जनाको हत्या भएको इन्सेकको तथ्यांक छ ।
बलात्कारतर्फ सन् २०२१ मा २३४ बलात्कारको घटना भएकोमा २०२२ मा २२९ वटा बलात्कारका घटना भएका छन् ।
इन्सकेको दुई वर्षको तथ्यांकलाई केलाउँदा २०२२ मा बालबालिका १६२ र महिला ६७ जना बलात्कार घटनाका पीडित रहेका छन् भने २०२१ मा बालबालिका १५६ र महिला ७८ जना बलात्कृत भएका थिए । यी तुलनात्मक रुपमा हेर्दा दुई वर्षमा महोत्तरी, सर्लाही, रौतहट र बारा बढेको छ भने सप्तरी, सिरहा, धनुषा र पर्सामा घटेको छ ।
तथ्यांकअनुसार सबभन्दा बढी बारामामा बढेको छ भने सिरहा धेरै कमी आएको छ । बारामामा २०२१ मा २० बाट बढेर ४३ पुगेको छ भने सिरहामा ६५ बाट झरेर ३४ पुगेको छ । इन्सेकको मानवअधिकार वर्ष पुस्तकमा उल्लेख विवरणअनुसार २०२१ मा महोत्तरीमा १३, सर्लाहीमा ५, रौतहटमा ३१, महोत्तरीमा ३१, सर्लाहीमा ९, रौतहटमा ४३ र बारामा ४३ भएको छ । कमी भएका जिल्लाहरूमा सप्तरीमा २६ मा २७ भएको छ भने धनुषामा ३३ रहेको १४ मा र पर्सामा ४० रहेकोमा ३२ मा झरेको छ ।
मानवअधिकार वर्ष पुस्तक २०२३ अनुसार वर्ष २०२२ मा बारामा ३३ बालबालिका र १० महिलासहित ४३ जना बलात्कृत भएको छ । त्यसपछि क्रमागत आधारमा रौतहटमा ३० बालबालिका र १० महिलासहित ४० जना, सिरहामा २१ बालबालिका र १३ महिलासहित ३४ जना, पर्सामा २१ बालबालिका र ११ सहित ३२ जना, महोत्तरीमा २४ बालबालिका र ७ महिलासहित ३१ जना, सप्तरीमा १८ बालबालिका र ८ महिलासहित २६ जना, धनुषामा ७/७ जना बालबालिका र महिलासहित १४ जना, सर्लाहीमा ८ बालबालिका र एक महिलासहित ९ जना बलात्कार पीडित भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले मान्छेको मनोवृत्ति र मनोविज्ञानले श्रृजना हुने द्वन्द, रिसवी र आवेश तथा सामाजिक संरचनाले हत्या जस्ता आपराधिक घटना हुने गरेको अहिलेसम्मको अनुसन्धानमा देखिएको बताउँछन् । सामाजिक तथा पारिवारिकद्वन्द र मनोविज्ञान तथा मनोवृतिले मानिसको मनस्थितिमा उत्पन्न हुने अपराधिक प्रवृत्तिले बलात्कारको घटनामा वृद्धि भएको हुनसक्ने उनले बताए । बलात्कारको घटना न्यूनीकरणका लागि शिक्षा र सचेतना बढाउनुका साथै पारिवारिक संस्कारमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया