ज्यान मुद्दामा १८ वर्षदेखि फरार अभियुक्त पक्राउ
विराटनगर । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकेका तर फरार रहेका व्यक्तिहरुको खोजविन सुरु गरेपछि उदयपुरको ताप्ली गाउँपालिका–५ का ५२ वर्षीय मघु दमाई पक्राउ परेका हुन् ।
उनलाई जिल्ला अदालत उदयपुरले २०६१ चैत ९ को फैसलाबाट कर्तव्य ज्यान मुद्दामा २ वर्ष ३ महिना ११ दिन कैद हुने फैसला गरेको थियो । फरार सूचीमा रहेका दमाई प्रहरीबाट लुकिछिपी बस्ने गरेको जानकारीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश कुमार पोदारले जानकारी दिए ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत नै २०६५ माघ ५ गतेको फैसलाबाट कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद तोकिएका ताप्ली–१ डुम्रेका ५० वर्षीय तस बहादुर सुनुवार र २०७३ असार १६ मा चोरी मुद्दामा ४५ हजार जरिवाना भएका कटारी–३ का ३९ वर्षीय सन्तोष विश्वासलाई समेत पक्राउ गरिएको उनले बताए । पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत उदयपुरमा कैद तथा जरिवाना भुक्तानका लागि पेश गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया