अपराध

यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत् ठगी गर्ने दुईजना पक्राउ

इकागज |
फागुन १६, २०७९ मंगलबार १२:४२ बजे

काठमाडौं - यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत् नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्यएप, ईन्टारग्राम, भाइबर र टिकटकमार्फत् पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूकेमा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरूसँग मोबाइल नम्बर लिई प्रलोभनमा पारेका थिए ।


तत्पश्चात यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात विभिन्न व्यक्तिहरूलाई  पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x