अपराध

ठमेलमा युगान्डाकी महिला : पर्यटक भिसामा साथी बोलाउँदै, यौन व्यवसायमा लगाउँदै

इकागज |
फागुन १८, २०७९ बिहीबार १७:२४ बजे

काठमाडौं–
नाम : नताशा भनिने एमाकुलेट नाबासुम्बा
वर्ष : २५
बसोबास स्थान : होटल जर्नी होम, ठमेल काठमाडौं
घर : मसाका, युगान्डा

पर्यटक भिसामा नेपाल आएकी युगान्डाकी यिनै नातासा नेपाल प्रहरीको फन्दामा परेकी छिन् । उनलाई युुगान्डाबाट आफ्ना साथी बोलाउँदै यौन व्यवसायमा लगाएको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले फागुन १५ गते उनी बसोबास गर्ने गरेको होटलबाटै नियन्त्रणमा लिएको थियो । उनले युगान्डाबाट आफ्ना साथीहरू बोलाउँदै जर्बजस्ती नेपाली तथा भारतीय युवाहरुसँग ४ देखि ५ हजार रुपैयाँ लिदैं जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको मानव बेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ ।

व्यूरोका एसपी कृष्णप्रसाद पंगेनीकाअनुसार पछिल्लोसमय नतासाले आफ्ना पुराना एक साथीलाई पर्यटक भिसामा नेपाल बोलाएकी थिइन् ।  होटलमा वेटरको काम गरेबापत कम्तीमा ५ सय अमेरिकी डलर कमाइ हुने भन्दै उनले आफ्नी साथीलाई पर्यटक भिसाबाट नेपाल झिकाएकी थिइन् ।

नताशाले विभिन्न आश्वासन दिई पीडित महिलालाई बोलाएपछि जनवरी २८ मा उनी नेपाल आइपुगेकी थिइन्। नताशा भने २०२२ डिसेम्बर ८ मै आएर बस्न थालेकी हुन् । साथीलाई नेपाल बोलाउँदा हवाई टिकट, भिसा लगायतको खर्चसमेत कमाएर तिर्न सक्ने भनेर उनले ती महिलालाई काठमाडौं ल्याएको देखिएको एसपी पंगेनीले बताए । 

‘आफ्नै नजिककै साथीलाई नेपाल बोलाएर काम लगाउन सहज हुने देखेर नतासाले साथीलाई बोलाएको देखिन्छ,’ उनले भने, ‘साथीले सुरुमा व्यवसाय गर्न नमानेको र पछि परिवार सबैलाई मारिदिनेसमेत धम्की नतासाले दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

उनकी साथी नेपाल आएलगत्तै नतासाले यौन व्यवसायमा लगाएकी थिइन् । दैनिक ५-७ जनासँग शारिरिक सम्पर्क गर्न लगाएपछि एक हप्तापछि उनकी साथी बिमारी परेकी थिइन् । बिरामी परेपछि उनी युगान्डा फर्कने भन्दै होटलबाट निस्किएर एअरपोर्ट पुगेकी थिइन् । तर, उनको हवाई टिकट नतासाले क्यान्सिल गरिदिएपछि उनी युगान्डा फर्कन पाइनन् । आफू टिकट क्यान्सिल भएर युगान्डा जान नपाएपछि पीडित महिला सिधै मानव बेचबिखन व्यूरोमा पुगेपछि यो घटनाको रहस्य खुलेको हो ।

एसपपी पंगेनीकाअनुसार उनले नतासामाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्म कारबाही गरी पाउँ भन्दै जाहेरी दिएकी हुन् ।

जाहेरी परेकै दिन प्रहरीले नताशालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको उनले बताए । उनीमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नतासा आफै यौन व्यवसायी हुन् । ग्राहक नपाएका दिन उनी ठमेलका विभिन्न क्लबहरुमा पस्ने गरेकी थिइन् । ‘यो जालो लामो फैसलिएको हुनसक्छ,’ पंगेनीले ने, ‘अहिले एक् जना पीडित मात्रै सम्पर्कमा आएकाले थप अनुसन्धान हुँदैछ ।’ नतासाले अन्य काम गर्ने गरेको नपाइएकाले अन्य स्थनमासमेत उनको सम्पर्क स्थान हुनसक्ने आंकलन गरिएको छ । ‘अन्य महिलालाई पनि नेपाल झिकाएर यौन व्यवसायमा लगाएको हुनसक्ने देखिन्छ, यसबारे हामी खोज्दैछौं ।’ उनले भने । जाहेरी पीडित महिलाको भनाइ उदृत गर्दै एसपी पंगेनीले शारिरिक सम्पर्कपछि ग्राहकले दिएको पैसासमेत नतासा आफैले राख्ने गरेकी थिइन् ।
 


Author

थप समाचार
x