अपराध

एकसेट रेम्डेसिभिरको १ लाख २० हजार ! प्रहरी ग्राहक बनेर पुगेपछि खुल्‍यो पोल

इकागज |
बैशाख २३, २०७८ बिहीबार १५:२१ बजे

काठमाडौँ : नेपाल प्रहरीले काठमाडौंमा रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो । उनले एकसेट रेम्डेसिभिर १ लाख २० हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा महाराजगन्जबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङले जानकारी दिए । 

रेम्डेसिभिर औषधिको कालाबजारी भइरहेको सूचनाका आधारमा ग्राहक बनेर खरिद गर्न जाँदा रसिक मियाले बार्गेनिङ गरेर  १ लाख २० हजार रुपैयाँमा बेच्न तयार भएपछि पक्राउ गरेको उनले बताए। पक्राउ परेका रसिकले सेवा फर्माका दीपक ढकालले भने अनुसार आफूले बेचेको बताएपछि थप अनुसन्धान भइरहेको खापुङले बताए । 


कोभिड संक्रमणबाट जटिल अवस्थामा रहेका संक्रमितलाई केही राहत दिनका लागि यो औषधि प्रयोग गर्ने गरिन्छ । पक्राउ परेकामाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x