अपराध

बढी भाडा लिने बुकिङ काउन्टरका सात कर्मचारी पक्राउ

इकागज |
बैशाख २५, २०७८ शनिबार १७:६ बजे

काठमाडौँ  : महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञामा यात्रु ठगी गर्ने सात जनालाई पक्राउ गरेको छ ।  कलंकीस्थित साबित्रा काउन्टरमा कार्यरत महोत्तरीका मनु अर्याल (५३), उनका छोरा अनु अर्याल (३०) लाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै, नारायणी यातायात काउन्टरका नवराज घिमिरे (३८), विपिन सुवेदी (४४) र जय नेपाल सुपर डिलक्सका बुकिङका इन्चार्ज ज्ञानेन्द्र साह (४९) पक्राउ परेका छन् । 

प्रमुख एसएसपी जनक भट्टराईका अनुसार उनीहरूले धनुषा, महोत्तरी र बिरगञ्‍ज जाने यात्रुसँग प्रति व्यक्ति २५ सयदेखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको छ । ‘जुन तोकिएभन्दा करिब तीन गुणा बढी भाडा हो,’ उनी भन्छन्, ‘उनीहरूलाई कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी बुझाएका छाैँ ।’


त्यसैगरि,  रुकुम पश्‍चिम यातायात प्रा.लीका गणेश रावल र भागरिराम छिनाललाई पनि पक्राउ प्रहरीले पक्राउ गरेको छ । रुकुम जाने यात्रुहरूसँग छ हजारका दरले भाडा लिने उनीहरूलाई प्रहरी प्रभाग नयाँ बसपार्क बुझाइएको महाशाखाले जनाएको छ । 

एसएसपी भट्टराईका अनुसार निषेधाज्ञामा आफूखुशी भाडा लिने १६ जनालाई महाशाखाले पक्राउ गरी कारबाही गरिसकेको छ । ‘यस्तो परिस्थितिमा यात्रुहरू समस्यामा पर्न सक्ने र ठगिन सक्ने कुरालाई ध्यानमा राखेर हामीले निगरानी बढाएका हौँ,’ उनी भन्छन् । 


Author

थप समाचार
x