नक्कली वकिल बनेर ठगी
फाइल फोटो
जाजरकोट - एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानुन व्यवसायी हुँ भन्दै ठूलो रकम ठगी गरेको पाइएको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
यसरी ठगीमा उनले अर्काको लाइसेन्स नम्बर दुरुपयोग गरेको पनि पाइएको उनले बताए । उनले विभिन्न ठाउँमा आफ्नो नाम भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भनेर चिनाउने गरेका पनि भेटिएको छ । उनले अहिलेसम्म रु ३१ लाख ठगी गरेको फेला परेको र उनको साथबाट रु ७० लाखभन्दा बढी रकम उल्लेख गरिएको विभिन्न बैंकका चेक बरामद गरिएको छ ।
उनको साथबाट सर्वोच्च अदालतबाट जारी भएको वादी नेपाल सरकार प्रतिवादी नारायणशम्शेर जबरा भएको मुद्दाको चैत २९ गतेको तारेखको पर्चा र नारायणशम्शेर जबराले बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुनरावेदनको प्रतिलिपि पनि बरामद गरिएको छ । यस्तै विभिन्न अदालतबाट जारी भएको तारेख पर्चा पनि बरामद भएको रिजालले बताए ।
रिजालले उनीमाथि ठगीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै उनीबाट ठगीमा परेको भए सम्पर्कमा आउन पनि अनुरोध गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया