अपराध

याैनजन्य हिंसा : परिवारका सदस्यबाटै बालिकाहरू असुरक्षित

इकागज |
बैशाख २, २०८० शनिबार १७:४४ बजे

प्रतिकात्मक तस्बिर

महोत्तरी । ८ मंसिर २०७७ को बिहानै ७ वर्षीया बालिका गुलावसा खातुन घर नजिकै मृत अवस्थामा भेटिइन् । तीन दिनदेखि हराइरहेकी खातुनको बर्दिबास नगरपालिका–१४ को सुभम बस्तीमा मृत अवस्थामा भेटिएपछि निकै खैलाबैला भयो । उनको शवलाई हेर्दा बलात्कारपछि हत्या गरेको धेरैले अनुमान गरे । 

प्रहरीले शंंकाका आधारमा बर्दिबासका अरुण साहलाइ पक्राउ गर्‍यो । पक्राउपछि प्रारम्भिक अनुसन्धानमा नै बालिकालाई बलात्कारपछि हत्या गरेको साहले स्वीकार गरेपछि अहिले जेल जीवन भोगिरहेका छन् । अवोध बालिकालाई बलात्कारपछि हत्या गरेको आक्रोशमा स्थानीयहरूले आन्दोलन गर्दा प्रहरीको गोली लागेर एक जनाको ज्यान समेत गएको थियो । अहिले अरुण साहको घरलाई समेत स्थानीयहरूले नियन्त्रणमा लिएका छन् । घटनालगत्तै आक्रोशित स्थानीयले लगाएको आगोले जलेको घरमा अहिले पनि लेखिएको छ–यो घर अपराधीको घर हो, यसलाई कसैले किन्ने कोसिस नगर्नुहोला ।’ 


बालबालिका र अपांग महिलासमेत बलात्कृत भएका छन् । १६ जेठ २०७७ मा आफ्नै घरअगाडि खेलिरहेकी ६ वर्षीय नाबालिकालाई दाजु नाता पर्ने १४ र १२ वर्ष उमरेका दुईजनाले बलात्कार गरेको घटना बाहिरियो । बालिकालाई बाँसको मचानमा बलात्कार गरेको भन्दै पीडित पक्षले दुवैजनाविरुद्ध उजुरी दिए । सोही वर्ष भदौमा रामगोपालपुरमा यस्तै अर्को घटना भयो । 

बोल्न नसक्ने महिला राति शौच गर्न बाहिर निस्केका बेला सामूहिक बलात्कारको सिकार भइन् । उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरेर छानबिन गर्न प्रहरीले महिनौँ लगाएको आरोप लागेको थियो । स्वास्थ्य जाँच र महिलाको अवस्थालाई हेर्दा उनलाई यातना दिएर बलात्कार गरेको प्रहरीले नै निष्कर्ष निकालेको थियो । 
त्यसयता महोत्तरीमा ६० वटा बलात्कार घटना भएका छन् भने पछिल्लो ६ महिनामा २२ वटा बलात्कारका घटना भएका छन् । यसमध्ये नाबालिगमाथि भएका बलात्कारका घटना आधा दर्जन रहेका छन् । 

सार्वजनिक भएका घटनाहरूलाई आधार मान्ने हो भने बर्दिबास नगरपालिकामा सबैभन्दा बढी बलात्कारका घटनाहरू भएको देखिएको छ । परिवारभित्रका दाइ, काकालगायत परिवारका सदस्यबाटै बलात्कारका प्रयास भएका छन् । 

बर्दिबास क्षेत्रमा नै गत १५ चैतमा आफ्नै बुबाले १३ वर्षीया छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो ।  आमा नभएको मौका छोपेर छोरीमाथि टक–पटक बलात्कार गरेको र छोरी गर्भवती भएका थाहा पाएपछि बुबा फरार भए । 

शारीरिक र मानसिक तनाव दिएर जेठी छोरीलाई जबरजस्ती गर्दै आएका बुबालाई प्रहरीले खोजी गरिरहेको छ भने गर्भवती बनेकी बालिकाको थापाथलीस्थित ओसीएमसीमा राखेर स्वास्थ्य उपचार भइरहेको छ । यातनाबाट विक्षिप्त बनेकी बालिकालाई ओसीएमसीमा राखेर स्वास्थ्य उपचारका साथै सामाजिक परामर्श समेत दिइएको छ । 

यस्तै प्रकृतिको अर्को घटना पनि बाहिरिएको छ । घरपरिवारले दिएको उजुरीको आधारमा प्रहरीले बर्दिबास–३ बाट अर्का बुबालाई पक्राउ गरेको छ । गत २३ चैतमा इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरि थप अनुसन्धानलाई अगाडि बढाइरहेको छ । 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आफ्नै छोरीलाई बलात्कार प्रयास गरेको खुल्न आएको छ । पटकपटक बलात्कारको प्रयास गर्न खोजेपछि प्रहरीलाई खबर गरिदिएको छिमेकीहरूले बताए । ‘प्रारम्भिक बयानमा श्रीमती बाहिर निस्केको मौका छोपी बलात्कारको प्रयास गर्ने रहेछ, ’ प्रहरी नायव उपरीक्षक विजय यादवले भने ।

उजुरी दर्ता भएको तर जाहेरी भने अहिलेसम्म आएको छैन । आफ्नै घरमा समेत छोरीहरू कति धेरै असुरक्षित छन् भन्ने विषय पछिल्ला यी घटनाले प्रतिनिधित्व गरेका छन् । यी घटना त १५ दिनको अवधिमा सार्वजनिक भएका प्रतिनिधि मात्र हुन् । पछिल्लो ६ महिनाको अवधिमा मात्र २२ वटा जबरजस्ती करणीका घटनाहरू भएको प्रहरीको तथ्यांक छ । 

तथ्यांकअनुसार १६ वर्षभन्दा कम उमेर भएका १० जना बालिकाहरू, १६ देखि २५ वर्षका ७ जना, २५ देखि ३५ वर्षका २ जना र ३६ देखि ४५ वर्षका २ जनामा बलात्कारका घटनाहरू भएका छन । 

पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा बढी गौशाला नगरपालिकामा जबरजस्ती करणी र जबरजस्ती करणीको उद्योगका घटनाहरू भएका छन् । गौशाला नगरपालिकामा ५ वटा, जलेश्वर नगरपालिकामा ३, बर्दिबास नगरपालिकामा ३ वटा, सोनामा गाउँपालिकामा ३ वटा, मनरासिस्वामा ३ वटा, पिपरामा २ वटा र सम्सी गाउँपालिकामा १ वटा घटना भएका प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x