अपराध

८२ लाख रकमसहित तीन भारतीय र एक नेपाली हुण्डी काराेबारी पक्राउ

इकागज |
बैशाख २९, २०७८ बुधबार १९:३८ बजे

वीरगंज  : पर्सा प्रहरीले वीरगंजबाट ८२ लाख ५० हजार नगदसहित चार जना हुण्डी कारोबारी पक्राउ गरेकाे छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा एक जना नेपाली र ३ जना भारतीय हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूमा बाराको महागढीमाई नगरपालिका ४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारत बिहार जिल्ला मोतिहारी रक्सौल १८ का २७ वर्षीय बिकास कुमार, भारत विहार मोतिहारी पूर्वी चम्पारण थाना रक्सौलका २२ वर्षीय गुड्डु कुमार र भारत मोतीहारीका १८ बर्षीय साहिल गुप्ता रहेका छन् ।


गोप्य सूचनाको आधारमा बुधबार दिउँसो १ बजेको समयमा अन्सारीलाई वीरगन्ज महानगरको पुरानो बसपार्क, आदर्शनगर चोकमा हिँडिरहेको अवस्थामा २५ लाख रूपैयासहित पहिला नियन्त्रणमा लिइएकाे पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।

त्यसपछि उनलाई नियन्त्रण लिई अनुसन्धान गर्दै जादा विकास कुमारको डेरामा गएर खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाइ  राखिएको ५७ लाख ५० हजार सहित थप दुई जनालाई पक्राउ गरिएकाे उनले बताए ।

उनीहरुले प्रयोग गर्ने ना. ८ प. ४८९७ नम्बरको बजाज कम्पनीको डिस्कभर मोटरसाइकलसमेत नियन्त्रणमा लिई तिनीहरू विरूद्ध अवैध कारोबार बैंक तथा वित्तीय कारोबार ऐन अन्तर्गत कारबाही गरिने प्रहरी नायब उपरीक्षक खनालले बताए ।


Author

थप समाचार
x