बूढानीलकण्ठ ‘हिट एण्ड रन’ केस : पृथ्वी मल्ललाई ४ वर्ष कैद, ४० हजार जरिवाना
काठमाडौँ– बूढानीलकण्ठ ‘हिट एण्ड रन’ केसका अभियुक्त पृथ्वी मल्ललाई उच्च अदालत पाटनले ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको छ । आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदिश घिमिरेको संयुक्त इजलासले सो सजाय सुनाएकाे हाे ।
२०७६ मंसिर २८ गते मल्लले चलाएको कारको ठक्करबाट बूढानीलकण्ठको सडकपेटीमा हिँडिरहेकी लीला देवकोटाको मृत्यु भएको थियो । अनुसन्धानमा मल्लले मदिरा पिएको खुलेको थियो ।
यो मुद्दामा सरकारी वकिल कार्यालयले उनलाई १० वर्ष कैद र एक लाख जरिवानाको माग गरेको थियो । तर, जिल्ला अदालत काठमाडौँले मल्ललाई ६ महिना कैद र एक हजार रुपैयाँमात्रै जरिवाना गरेको थियो । फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालतमा पुनरावेदनमा गएको थियो ।
दुर्घटनापछि पक्राउ परेका मल्ललाई जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले मल्ललाई मानसिक समस्या देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
आइतबार उच्च अदालत पाटनले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ बमोजिमको कसुर’ गरेको भन्दै फैसला सुनाएको छ । उक्त दफामा कसैको ज्यान जानसक्छ भन्ने जान्दाजान्दै पनि सवारी चलाई सवारीसाधनको भित्र वा बाहिर भएको कुनै व्यक्तिलाई ठक्कर दिई तत्कालै वा चोटका कारण २१ दिनभित्र मृत्यु भएमा त्यस्ता सवारी चालकलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र तीन हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
लीला परिवारको प्रश्न : जीवनको मूल्य एक हजार तोकेर न्यायालयले दिन खोजेको सन्देश के हो ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया