अपराध

रेमिट्यान्स पसलबाट चोरी गर्ने दुई युवक पक्राउ

इकागज |
असार ६, २०८० बुधबार १९:५६ बजे

फाइल फोटो

जनकपुरधाम -  असार ६ गते आइएमई रेमिट्यान्स पसलबाट चोरी गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिका वडा नम्बर–९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र वडा नम्बर–५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 


गत सोमबार राति १० बजे हंसपुर नगरपालिका वडा नम्बर–९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिट्यान्स पसलको भित्ता फोडेर ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी गरेका थिए ।

ईलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलाश गर्दै जाँदा दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

सोही ठाउँस्थित पशु विकासको पुरानो भवनभित्र खाल्टो खनेर लुकाई छिपाई राखेको अवस्थामा ती सामानहरू बरामद गरिएको र उनीहरूको साथबाट चोरी कार्यमा प्रयोग गरिएका कटर, फलामको रड, हतौरा समेत बरामद गरिएको डीएसपी गौतमले बताए । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भइरहेको उनले जनाएको छ ।
 


Author

थप समाचार
x