अपराध

अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन पक्राउ

इकागज |
जेठ ५, २०७८ बुधबार २१:१२ बजे

काठमाडौँ  : अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्‍ने नुवाकोट विदुर नगरपालिका-३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका-१२ लगनखेल बस्‍ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका-२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

हाल विश्‍वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालोबजारी भइरहेको भन्‍ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

उनीहरूको साथबाट अक्सिजन भरिएको सिलिण्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ । उनीहरु विरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
 


Author

थप समाचार
x