अपराध

श्रृखलाबद्ध लुटपाटमा संलग्न थिए रोहितका हत्यारा

इकागज |
साउन १७, २०८० बुधबार २२:० बजे

विराटनगर -प्रेमिकासँग आफ्नो जन्मदिन मनाएर विराटनगर फर्किने क्रममा इटहरी नगरपालिका–२० सेउती पुलमा विराटनगर महानगरपालिका–५ कोचाखालका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गर्नेहरु श्रृंखलाबद्ध लुटपाटमा संलग्न रहँदै आएका व्यक्तिहरू भएको खुलेको छ । 

साउन ५ गते साँझ करिब सवा पाँच बजेतिर सेउती खोलीको पुल नजिकै आइपुगेर पानी खानका लागि उनीहरु सवार को ३२ प १७९६ नम्बरको मोटरसाइकल रोकेका रोहित र उनकी प्रेमिका विराटनगर–३ की सुमना खत्रीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गर्न खोज्ने तीन जनाको समूहमध्येका दुई जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालयले बुधबार सार्वजनिक गरेको हो । 


उनीहरूले लुटपाट गर्न खोज्दा प्रतिकार गर्ने क्रममा रोहितको कोखामा गोली प्रहार भएको थियो । गोली लागेर गम्भीर घाइते भएका चौधरीको सोही दिन उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

लुटपाट र गोली प्रहारमा संलग्न रहेको आरोपमा मोरङको लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमल्सिना र धरान उपमहानगरपालिका–१० का ३४ वर्षीय अनसन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान,  खुकुरी २ थान, मोबाइल ५ थान, औंठी १ थान र फायर भइसकेको गोलीको खोका १ थान पनि बरामद गरिएको जनाइएको छ ।

रोहितको हत्या गरी मोबाइल र गरगहना लुटपाट गरेर फरार भएका उनीहरूलाई प्रहरीले खोजतलास गर्ने क्रममा मंगलबार धरानकै पुतली लाइनबाट पक्राउ गरेको जनाएको छ । 

घटना अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीसमेतको सहकार्यमा अनुसन्धान समूह बनाइएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले हत्यामा संलग्न व्यक्तिहरूले गत असार ८ गते धरान–१७ को खैरेनी जंगलमा एक महिलालाई लुटपाट, असार २३ मा धरानबाट मोटरसाइकलमा प्रकाशपुर गइरहेका श्रीमान् श्रीमतीमाथि सोही स्थानमा लुटपाट र असार ३१ मा धरानबाट कालाबञ्जर गइरहेका अर्का व्यक्तिलाई लुटपाट गर्ने कार्यमा समेत संलग्न रहेको पाइएको जानकारी दिए । 

पक्राउ परेका मध्ये तिमल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अघिमात्रै जेलबाट छुटेका थिए । त्यस्तै तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको र दुवै जना लागूऔषध प्रयोगकर्ता रहेको जनाइएको छ ।

तिमल्सिना र राईसहित लुटपाटका घटनामा संलग्न रहेका अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।


Author

थप समाचार
x