अपराध

एम्बुलेन्समा गाँजा ओसार-पसार, दुई जना पक्राउ

इकागज |
जेठ ११, २०७८ मंगलबार १२:४९ बजे

विराटनगर : गैर सरकारी संस्थाका नाममा रहेको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामत गरेको छ । हुडेप नेपाल नाम लेखिएको को १ च ५५५९ नम्बरको मारुती एम्बुुलेन्सबाट सुनसरीको धरानमा गाँजा बरामद गरिएको हो ।

धरान उपमहानगरपालिका–२ स्थित कोशी राजमार्गमा धरानतर्फ आउँदै गरेको उक्त एम्बुुलेन्सबाट एक सय किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले एम्बुलेन्सबाट २५/२५ किलोको ४ वटा झोलामा राखिएको गाँजा बरामद गरेको थियो । गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एम्बुलेन्सलाई गाँजाको ओसार-पसार गर्न प्रयोग गरिएको जनाएको छ । 


पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटाको सहिदभुमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशन राई छन् । उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x