स्रोत नखुलेको रकमसहित पक्राउ
फाइल फोटो
मोरङ - विराटनगर- मोरङ प्रहरीले स्रोत नखुलेको २१ लाख ८७ हजार रुपैयाँसहित एक बालकलाई पक्राउ गरेको छ । मंगलबार अपरान्ह ३ बजेतिर विराटनगर महानगरपालिका–६ शनि मन्दिर चोकबाट १६ वर्षीय बालकको साथमा रहेको झोला तलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पछाडि भिर्ने कालो झोलाभित्र नेपाली एक हजार र पाँच सय रुपैयाँ दरको नोट बरामद गरेको जनाएको छ । एक हजार रुपैयाँ दरको १६८७ थानको १६ लाख ८७ हजार तथा पाँच सय दरको १००० को ५ लाख रुपैयाँ बरामद गरेको हो ।
बरामद भएको उक्त रकम हुन्डी कारोबारीको रहेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओलीले बताए । प्रहरीले बालकले चढेको प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ । उनको साथबाट कुमारी बैंकको चेक बुक एक थान, एनआईसी एशिया बैंकको काटिएको चेक एक थान र ग्लोबल आइएमई बैंकमा विभिन्न मितिमा जम्मा गरिएको भौचर चारवटा समेत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया