अदालतबाट भागेका कमल जडीबुटीबाट पक्राउ
तस्विरः फाइल फोटो
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतबाट हतकडीसहित भागेका ठगीका आरोपी होटलबाट पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट ३२ वर्षीय कमल खड्कालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले इकागजालाई जानकारी दिए।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ घर भई भक्तपुरको दुवाकोट बस्दै आएका खड्का बुधबार जिल्ला अदालत काठमाडौँबाट भागेका थिए।
थुनछेक बहस गराउन प्रहरी वृत्त महाराजगन्जका प्रहरी वरिष्ठ हवल्दार इन्द्रबहादुर सिंजालीले उनलाई अदालत लगेका थिए । त्यसक्रममा बुधबार दिउँसो साढे १ बजे उनी अदालत परिसरबाट हतकडीसहित भागेका थिए ।
उनको खोजीका लागि वृत्त प्रमुख अमरबहादुर थापा क्षेत्री र प्रहरी परिसरको संयुक्त टोली परिचालन भएको थियो। गेष्ट हाउसमा बसिरहेको अवस्थामा प्रहरीले खड्कालाई फेला पारेको हो ।
खड्काले लगाएको हतकडी र थुनुवा ज्याकेट दुवाकोटमा रहेको उनको कोठाको डस्टबिनमा भेटिएको थियो। सस्तोमा डलर साट्ने भन्दै उनले ठगी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया