अपराध

मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

इकागज |
जेठ २२, २०७८ शनिबार २०:५६ बजे

काठमाडौँ  : प्रहरीले मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा संस्थाका सञ्‍चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्‍ने मोरङ विराटनगर उपमहानगरपालिका-१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् । उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त हेल्थ केयरबाट मापदण्ड विपरित सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो । उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


यसैबीच आज विभिन्‍न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने दुई हजार ५३३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा चालकलाई सचेत गराएर छाडिएको छ । 

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम यूनिकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४४ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको छ ।  निषेधाज्ञा उल्लंघन गर्ने ६४ जनालाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम  रु ६० हजार ८०० जरिवाना गरिएको छ । (रासस)
 


Author

थप समाचार
x