सन्तोषी सुब्बाको हत्या गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ : दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मृतक सुब्बाको हत्यारा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी –१४ घर भई दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई बिहीबार सार्वजनिक गरेको हो ।
सुब्बालाई दक्षिणकाली नगरपालिका – ७ को दक्षिणकाली मन्दिरस्थित जंगलपरिसरको पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा मंगलबार मृत अवस्थामा भेटिएको थियो । असार ६ गते मृतक सन्तोषी सुब्बाले अभियुक्त सुरेश तिमल्सिनालाई खाने र बासको समस्या भएको बताएपछि तिमल्सिनाले खाना र सुत्ने व्यवस्था आफूले काम गर्ने बसमा मिलाइदिन्छु भनी दक्षिणकालीको जंगलमा लगेर जर्बजस्ती गर्न खोजेको र मृतकले प्रतिकार गर्न खोज्दा घाँटी थिचि हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुवेर खापुङले बताए ।
अभियुक्तलाई लुकिछिपी बसेको अवस्थाबाट काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । अभियुक्तको साथबाट घटनाको बेलामा लगाएका कपडाहरु, मृतकको मोबाईल र मेमोरी कार्ड समेत फेला परेको प्रमुख खापुङले जानकारी दिए । त्यस्तै महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आयात गोदामबाट १३ थान ल्यापटप चोरी गर्ने २९ वर्षीय विष्णु अधिकारीलाई चोरी भएको ल्यापटपसहित पक्राउ गरेको बताएको छ । पक्राउ परेका अधिकारीलाई चोरी सम्बन्धि कसुरमा कारबाही चलाउने प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया