अपराध

अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्‍न चार चिनियाँ नागरिक पक्राउ

इकागज |
असार २२, २०७८ मंगलबार १८:३९ बजे

काठमाडौँ : दुर्लभ बन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्‍न चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१७ ज्याठा गल्लीभित्रको चिनियाँ नागरिकले सञ्‍चालन गरेको होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।  

पक्राउ परेका चिनियाँ नागरिकले दुर्भल बन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलाइरहेको प्रहरीले फेला पारेको छ । 


पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाइनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ७ थान, बाघको छाला जस्तो देखिने बस्तु १ थान, गाईको छाला जस्तो देखीने बस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने बस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ । 

उनीहरूको साथबाट राहधानी २ थान, चीनका विभिन्न बैंकहरूको एटिएम कार्ड ३५ थान, भौचर पाना(लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखिने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिए ।

पक्राउ परेका चिनियाँ नागरिकबारे प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

 


Author

थप समाचार
x