फरार लाक्पा पक्राउ
काठमाडौँ : उच्च अदालत पाटनले १५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-७ का ५९ वर्षीय लाक्पा लामालाई
प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १५ लाख जरिवाना गरेपछि फरार रहेका लामालाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ९ को फैसलापछि सात दिन कैद र बिगोबमोजिम १५ लाख जरिवानापछि फरार रहेका लामालाई आज काठमाडौँको चक्रपथबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ लामाले आफ्नो जनता बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले लामालाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका लामालाई फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता महतोले बताए । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया