अपराध

अदालतले तीस लाख जरिवाना तोकेपछि फरार दुई पक्राउ

इकागज |
साउन ४, २०७८ सोमबार १९:३७ बजे

काठमाडौँ  : नेपाल प्रहरीले ३० लाख जरिवाना भएपछि फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १५/१५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ टोखाका ४८ वर्षीय मिलन डङ्गोल र ६३ वर्षीय देवनारायण महर्जनलाई पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको फैसलापछि क्रमशः सात दिन र पाँच दिन कैद सजाय र  बिगोबमोजिम १५ लाख जरिवाना ठहर गरेपछि फरार डङ्गोल र महर्जनलाई आज टोखा र कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए । 


पक्राउ परेका डङ्गोलले नेपाल इन्भेष्टमेन्ट बैंक र महर्जनले माछापुच्छ्रे बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेका थिए । उच्च अदालतले डङ्गोल र महर्जनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । 

पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।(रासस)
 


Author

थप समाचार
x