अपराध

बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद

इकागज |
साउन २६, २०७८ मंगलबार २१:३ बजे

काठमाडौँ– बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा-१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । 

जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार पौडेलबाट पीडित बालिकालाई ५० हजार क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो । 


पौडेलले २०७७ वैशाख ३० गते बेलकोटगढी नपा-५ स्थित एक ओडारमा बोलाई १५ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो । स्थानीयवासीले उनलाई बालिका बलात्कार गरेको स्थानबाटै नियन्त्रणमा लिई कारबाहीका लागि प्रहरीमा बुझाएका थिए ।

जिल्ला अदालतले २०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको थियो ।  


Author

थप समाचार
x