अपराध

सिध्दबाबाले जिल्ला अदालतबाट सफाइ पाए

सरकारी वकिलको बहसबिनै न्यायाधीशले सुनाए फैसला

लीलावल्लभ घिमिरे |
मंसिर २२, २०७७ सोमबार १७:८ बजे

विराटनगर : बलात्कारसम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिध्दबाबा उपनामले चिनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् । 
सोमबार अर्जुनप्रसाद कोइरालाको एकल इजलासले गिरीमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

उनीमाथि लगाइएको अभियोगमा दाबी नपुगेकाले सफाइ दिने फैसला भएको श्रेष्तेदार पोखरेलले बताए । सरकारी वकिलले पेसी सार्न दिएको निवेदनको बेवास्ता गर्दै न्यायाधीश कोइरालाले गिरीको पक्षमा फैसला गरिदिएका हुन् । सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनपुगेको तथा यसअघि गिरीको मुद्दा हेरिरहेका सरकारी वकिल सरुवा भएकाले पेसी सार्न माग गरेको थियो । 


तर न्यायाधीश कोइरालाले पेसी नसर्ने भन्दै सुनुवाइ अघि बढाएका थिए । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलका तर्फबाट बहस नै भएको थिएन । एक अनुयायीले आफूलाई गिरीले बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । 
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x