मादी हत्या प्रकरण
लोकबहादुरबाहेक कसैलाई पक्राउ गरिएको छैन : प्रहरी
विराटनगर - संखुवासभाको मादी नगरपालिका-१ उम्लिङस्थित खोलागाउँमा एकै परिवारको ६ जनाको ज्यान लिने गरी भएको सामूहिक हत्याको घटनामा प्रहरीले थप कसैलाई पनि पक्राउ नगरिएको स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले लोकबहादुरबाहेक कसैलाई पनि नियन्त्रणमा नलिएको बताए ।
उक्त घटनामा संलग्न रहेको सवुत प्रमाण र प्रारम्भिक बयानका आधारमा प्रहरीले लोकबहादुरको संलग्नता पुष्टि गर्दै पक्राउ गरेको थियो । उनले घटनास्थलमा अहिले पनि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको नेतृत्वमा १० जनाको प्रहरी टोली बसिरहेको जानकारी दिए ।
खतिवडाको नेतृत्वमा रहेको उक्त टोलीले घटनाको थप अनुसन्धानका क्रममा खानतलासी, सोधपुछ र प्रमाण संकलन लगायतका कामहरु गरिरहेको उनले बताए । भदौ २१ गते भएको उक्त घटनामा उम्लिङ खोलागाउँका २५ वर्षीय लोकबहादुर कार्कीले नाताले बाडाबाउ पर्ने तेजबहादुर कार्कीसहित ६ जनाको हत्या गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया