अपराध

रिसोर्टमा काम गर्ने बालिकामाथि बलात्कार गर्ने पक्राउ

इकागज |
पुस २, २०७७ बिहीबार १८:२२ बजे

प्रतिकात्मक तस्वीर

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको हेल्मेट डाँडास्थित एक रिसोर्टमा काम गर्ने बालिकालाई बलात्कार गर्ने एक युवकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापाअनुसार मंसिर ३० गते हेल्मेट डाँडामा रहेको ‘बाटोमाथिको रिसोर्ट’ मा काम गर्ने १७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् ।

बालिकालाई सोही रिसोर्टका वेटर प्रदीप कुँवरको सहयोगमा बझाङका २६ वर्षीय निश्चल उपाध्यायले बलात्कार गरेको थियो । प्रहरीले निश्चलका साथै जबरजस्ती करणी गर्न सघाएको आरोपमा प्रदीपलाई र पक्राउ गर्न बाधा पु-याउने सोही रिसोर्टमा काम गर्ने काभ्रेका २१ वर्षीय प्रदीप केसी र गोरखाका २२ वर्षीय अश्विन कुँवरलाई पक्राउ गरेको छ । 


परिसरका प्रहरी निरीक्षक शशिधर शर्माको नेतृत्वको प्रहरी टोलीले मंसीर ३० गते रिसोर्टमा छापा मारेको थियो । उमेर नपुगेकी किशोरीलाई जागिर दिने बहानामा बोलाएर अवैध काममा लगाउने गरेको सुचनाको आधारमा प्रहरीले बुधवार सो रिसोर्टमा छापा मारेको थियो । 

उक्त टोलीले चेकजाँच गर्दा रिसोर्टको कोठामा भेटिएका १७ बर्षीया बालिका र निश्चल उपाध्यायलाई नियन्त्रणमा लिएको थियो । बालिकाले दिएको बयानको आधारमा प्रहरीले रिसोर्टमा वेटर काम गर्ने प्रदीपलाई समेत पक्राउ गरेको थियो ।

हाल बालिकाको अवस्था सामान्य रहेको र दिदीको सहारामा रहेको एसपी तारादेवीले जानकारी दिइन् । साथै बालिकाले आफ्नी फुपूको रोहबरमा निश्चलले जबरजस्ती करणी गरेको र प्रदीपले जबरजस्ती करणी गर्न गराउन सहयोग गरेको भन्दै भक्तपुर प्रहरीसमक्ष जाहेरी दर्ता गरेकी छन् । सोही जाहेरी दर्खास्तको आधारमा अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
 


Author

थप समाचार
x