१ करोड २२ लाख ठगी गरेको आराेपमा दुई जना पक्राउ
काठमाडौँ - १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।
उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई ठगी गरेका हुन् ।
भण्डारी र भुजेलको बैंक खाता नम्बरहरू प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।
उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया