अपराध

भुपेन्द्र बडुवाल हत्या प्रकरण : एउटै समूहमा मनमुटाव भएपछि हत्‍या

इकागज |
मंसिर २०, २०७८ सोमबार १३:० बजे

कैलाली - भुपेन्द्र बडुवाल हत्या प्रकरणमा पक्राउ परेकाहरूको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालय कैलालीले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बडुवाल हत्यामा संलग्न रहेका र फरार रहेकाहरूबारे जानकारी दिइएको हो ।

हत्याको मुख्य योजनाकार नवीन रावलसहित हत्याको आरोप लागेका अन्य नौ जना फरार रहेको र उनीहरूको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनले हत्याको आरोपमा लम्किचुहा नगरपालिका ३ चिसापानीका महेश रावल (२३), धिरज भन्ने दिपेन्द्र शाही (२०), आर्यन देवकोटा (२०), मदन शाही (१९), वडा नम्बर १ का कपिल श्रेष्ठ (२२), दीपक गोलु भन्ने निशान्त मल्ल (१८), वडा नम्बर ५ बस्ने बिकास खड्का (२८), टिकापुर नगरपालिका १ का प्रबिण रिमाल (२३) रहेको बताएको छ ।


त्यस्तै बर्दिया जिल्लाको राजापुर नगरपालिका ७ घर भइ टिकापुर नगरपालिका १ का रोहित आले (२१), सोही ठाउँका सोहन शाह (२५), बर्दगोरिया गाउँ पालिका २ का लेकेन्द्र कुंवर (२५) र बर्दिया ठाकुरद्वारा नगरपालिका ३ गोदानाका सन्तोष भन्ने सबिन जंग शाही (२६) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

बिगत केही वर्षदेखि एउटै समूहमा रही लम्की, टिकापुर, चिसापानीलगायतका क्षेत्रमा अपराधिक गतिविधि गर्दै आइरहेकाहरूबीच केही समयअघि मात्रै मनमुटाव रहेकोले उक्त घटना हुन गएको हत्यामा संलग्नहरूको बयानको आधारमा बताएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

हत्या हुनुअघि नवीन रावल र मृतक बडुवाल एउटै समूहमा रही विभिन्न अपराधिक गतिविधि गर्दै आइरहेकोमा दशै अघि मात्रै घर आएका बडुवालाई पुन: आफ्नो समूहमा आवद्ध हुन गरेको आग्रहलाई बेवास्ता गरेपछि उनको हत्याको योजना बनेको प्रहरीले बताएको छ । गत कार्तिक २३ गते टिकापुरस्थित शिद्धार्थ होटेल नजिक बडुवालको हत्या भएको थियो ।


Author

थप समाचार
x