अपराध

ठगी र जालसाजीको आरोपमा फरार प्रतिवादी पक्राउ

इकागज |
पुस २६, २०७८ सोमबार २१:२० बजे

काठमाडौं– प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी र जालसाजीको आरोपमा फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । रोक्का भइसकेको खाताका चेक दुरुपयोग र जालसाजीसहित ठगी गरेकाे अभियोगमा सजायँ ताेकी फरार रहेका सिन्धुपाल्चोकका रामहरि थापालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला अदालत काठमाडाैँबाट सजायँ तोकिएका थापालाई सीआईबीद्वारा खटिएकाे प्रहरी टाेलीले आज पक्राउ गरेकाे हाे । जिल्ला अदालतले जालसाजी ठहर गर्दै जनही २/२ वर्ष कैद हुने फैसला गरेपछि त्यसमा संलग्न थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अदालतले गत मंसिर १३ मा दुई वर्ष कैद सजायँ सुनाएको थियो ।


रोक्का भइसकेको खाताका चेकमा व्यहाेरा भरी सटहीका लागि पेस गरी बाउन्स गर्न लगाउने र त्यसैको आधारमा रकम असुलीका लागि बार्गेनिङ गर्ने सिन्धुपाल्चोक बाह्रबिसे– ७ का ४४ वर्षीय थापा पक्राउ परेका हुन् ।

थापाले संगठित रुपमा गिरोह परिचालन गरी आफ्नो साथमा भएका अरुका कम्पनीको पुराना चेकहरु प्रयोगमा ल्याई ठगी गर्ने गरेको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे हाे । पहिले आफैँ सञ्चालक रहेको कम्पनीबाट रकम असुल्ने मनसायले आफ्नो मामा ससुरा मेखबहादुर श्रेष्ठ र सालो कुमार श्रेष्ठको नाममा चार करोडभन्दा बढी चेक काटी दिई बाउन्स गर्न लगाएको दाबीसहित सञ्चालकले जालसाजी मुद्दा दायर गरेका थिए ।

प्रहरीका अनुसार, यो समुहले जालसाजी गरी चेकहरु आफ्नो हातमा पार्ने अनि ती चेकहरुलाई खातावाला समेतलाई थाहा जानकारी नदिई गोप्य रुपमा बाउन्स गर्न लगाउँदै बार्गेनिङ गर्ने गरेको थियो । यतिमात्र होइन सुनौला खिम्ती कन्स्ट्रक्सन प्रा.लि. को नामको जालसाजी ठहर भएकै चेकबुकका अन्य चेकबाट थापा स्वयं सञ्चालक भई दर्ता रहेको सम्मान ट्रान्सपोर्टको नाममा दुईवटा चेक गरी १५ करोड २५ लाख रुपैयाँको चेक बाउन्स गर्न लगाएको दाबीसहित कानुनी उपचारको खोजी भइरहेको सुनौला खिम्ती कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक नविन राउतले जानकारी दिए ।
 


Author

थप समाचार
x