अवैध लागूऔषधसहित ५ पक्राउ
काठमाडौं - प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट लागूऔषध ओसारपसारमा संलग्नहरू पक्राउ परेका हुन्। प्रहरीकाअनुसार कमवानपुर, बाग्लुङ, स्याङ्जा र कास्कीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्।
मकवानपुरस्थित भिमफेदी गाउँपालिका–२ भैसेबाट १ सय ८३ किलो अवैध लागूऔषध गाँजासहित एक पक्राउ परेका हुन्। थाहा नगरपालिका–२ का रामचन्द्र सिङ्तानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रदेश ३–०१–०२२ च ३५५६ नम्बरको पिकअप गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा गाडीमा पोका बनाई लुकाई ल्याएको अवस्थामा गाँजासहित पिकअप चालक रामचन्द्र पक्राउ परेका हुन्।
त्यस्तै, बाग्लुङको गल्कोट नगरपालिका–५ हटिया चोकबाट करिब २३ किलो अवैध लागूऔषध गाँजासहित वडिगाड गाउँपालिका–८ खोलाखर्कका प्रकाश पाईजालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङ र ईलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
स्याङजाको फेदीखोला गाउँपालिका–४ सर्केटारीबाट करिब ३ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। सोही गाउँपालिका–१ आरुखर्क बस्ने काभ्रे बन्थली घर भएकी ४३ वर्षीया लक्ष्मी पहारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरीले गाँजासहित उनलाई पक्राउ गरेको थियो।
त्यस्तै, पोखरा महानगरपालिका–२२ जामुने डाँडाबाट नियन्त्रित लागूऔषध १ सय ७१ एम्पुल बुप्रिनर्फिन, १ सय ७१ एम्पुल डाइजेपाम र १ सय ७१ एम्पुल फेनारगनसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहारका धर्मेन्द्र कुमार र रुपन्देही मर्चवारी गाउँपालिका–५ मजगावाका अविनाश यादव रहेका छन् । पोखरातर्फ आउँदै गरेको लु.३३ प ९३४३ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा मोटरसाइकलमा सवार धर्मेन्द्रको साथबाट उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक अविनाशसमेतलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया