अपराध

लागुपदार्थ ओसारपसारमा संलग्न भएकाहरू पक्राउ

इकागज |
माघ ८, २०७८ शनिबार १७:५ बजे

काठमाडौं– विभिन्न स्थानमा अवैध लागुपदार्थ ओसारपसारमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर, सुर्खेत, बारालगायतका स्थानमा लागुपदार्थ ओसारपसारमा संलग्नहरू पक्राउ परेका हुन्। 

ललितपुर महानगरपालिका–३ पुल्चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित धनुषा जनकपुर नगरपालिका–६ का ३५ वर्षीय राजेश साहलाई प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा उनलाई प्रहरीले फेला पारी तलासी गर्दा साथमा रहेको उक्त परिमाणको लागूऔषध फेला परेको हो । उनी उपर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


त्यस्तै, सुर्खेत बीरेन्द्रनगर नगरपालिका–८ सिमलचोकका २४ वर्षीय ईश्वर रानालगायत ३ जनालाई करिब ८ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको  हो ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाइलेक्स डिसि १ सय १० बोतल सहित मकवानपुर कैलाश गाउँपालिका–९ घोरङ बस्ने २२ वर्षीय नबराज तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बा.५१ प ८३७५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x