अपराध

सिफारिस गर्ने वडाध्यक्ष रत्‍न कटवाल फरार

झुक्याएर धरानबाट नागरिकता बनाउने स्याङ्‍जाकी मञ्‍जु पक्राउ

इकागज |
पुस २३, २०७७ बिहीबार २०:५५ बजे

धरान : स्याङ्जाको वालिङ-३ घर भएकी मञ्जु क्षेत्रीले धरान उपमहानगरपालिका-९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ ।  विसं २०७५ माघ ८ गते धरान-९ बाट क्षेत्रीले नागरिकता लिएको पाइएको हो ।

उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुबा बनेर नागरिकता दिलाएको पाइएको प्रहरीले जनाएको छ ।  वडाध्यक्ष रत्‍न कटवाललाई झुक्काएर सेजुवालले आफू धरान-९ को बासिन्दा र मञ्जु आफ्नो छोरी भएको कागज बनाएर सिफारिस लिएको पाइएको छ ।


स्याङ्जा प्रहरीले क्षेत्रीलाई पक्राउ गरेपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।  वडा नं-९ का बासिन्दा बनेर मञ्जुलाई नागरिकता दिलाएका सेजुवाल हाल जापानमा रहेका छन् । छोरी बनाएर जापान लान उनले मञ्जुको नागरिकता बनाएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्‍नेतले अनुसार झुटो विवरण पेश गरेर नागरिकता निकालिएको कारण ठूलो रकम खर्च गरेको हुनसक्ने बताए ।

क्षेत्री पक्राउ परेपछि स्याङ्जा प्रहरीले नागरिकता सिफारिस गर्ने धरान-९ का वडाध्यक्ष रत्न कटवाललाई पनि अनुसन्धानको दायरामा ल्याउन इलाका प्रहरी प्रहरी कार्यालयसँग समन्वय गरेको प्रहरी नायब उपरीक्षक बस्‍नेतले जानकारी दिए । 

यस विषयमा यहाँका वडाध्यक्ष रत्‍न कटवाललाई सोधपुछ गर्ने तयारी गरिएको बस्‍नेतले जानकारी दिए । “हामी उहाँसँग सम्पर्क गर्न खोजिरहेका छौँ”, बस्‍नेतले भने, “अर्घाखाँचीको सेजुवालले सुनसरीबाट नागरिकता बनाइदिन्छु भनेर ल्याएछन् । यहाँ झुट्टा विवरण पेश गरेर नागरिकता बनाइएको पाइयो, थप कुरा अध्यक्षसँग सम्पर्क गरेपछि खुल्नेछ ।”

अनुसन्धानको क्रममा नागरिकता धरानबाट झिकेको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी क्षेत्रीसहित यो मुद्दा जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत धरान प्रहरीलाई जिम्मा दिएको छ । क्षेत्री ३४ वर्षकी भएको खुलेको तर विसं २०५५ को जन्मदर्ता गरेर दुई वर्षअघि २० वर्ष उमेरको नागरिकता लिएको पाइएको छ । 

जापानमा रहेका सेजुवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बस्‍नेतले  जानकारी दिए । सेजुवाल दुई वर्षअघि जापानबाट नेपाल आएर धरान-९ को बासिन्दा भई मञ्जुलाई नागरिकता निकालिदिएको खुलेको छ ।

नागरिकता निकालीदिएर उनी पुनः जापान फर्किएका थिए । ती युवती भने जापान जान प्रक्रिया मिलाउने क्रममा प्रहरीको फन्दामा परेकी हुन् । उनको वास्ताविक उमेरभन्दा कम उमेर नागरिकतामा देखिएपछि शंकाको घेरामा परेकी प्रहरीले बताएको छ ।

नागरिकता सिफारिस गर्ने वडाध्यक्ष कटवाललाई प्रहरीले खोजी गरिरहेको छ । कटवाल भने सम्पर्कमा छैनन् । उनले प्रयोग गर्ने मोबाइल पनि ‘स्वीचअफ’ रहेको प्रहरीको भनाइ छ । सेजुवाल नाम गरेको व्यक्ति आफ्नो वडामा अहिलेसम्म नाम नसुनेको र घटनाबारे केही थाहा नभएको ९ नं वडाका सदस्य मनोज राउतले बताए ।  (रासस)
 


Author

थप समाचार
x