अपराध

मधेशमा बढ्दै आपराधिक घटना, ६ महिनामा एक हजार ८८९ जना पक्राउ

इकागज |
माघ १०, २०७८ सोमबार १२:३२ बजे

जनकपुरधाम – जनकपुरमा अपराधिक घटना बढ्दो क्रममा भएको प्रहरी तथ्यांकले देखाएको छ । छ महिनाबीचमा एक हजार ८८९ जना पक्राउ परेका छन् । जसमा राजनीति कार्यक्रमको नाममा अराजक गतिविधि गरेको अभियोगमा पक्राउ परेका जनमत पार्टीका १२९ जना सामेल छन् ।

प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार, साउनदेखि पुस मसान्तसम्म भन्सार छलीे, लागू औषध, फरार प्रतिवादी, नदीजन्य पदार्थ निकासी, काठ ओसार–पसार, हात–हतियार, श्रोत नखुलेको रकमसहित पक्राऊ परेका व्यक्तिहरू हुन् ।


जसमा भन्सार छली गरी सामान ल्याएको आरोपमा १०४, लागूऔषध आरोपमा ६०५, फरार प्रतिवादीतर्फ ९५२, नदीजन्य पदार्थ निकासी आरोपमा २३, काठ ओसार–पोसार आरोपमा २२, हात हतियारतर्फ ३४, श्रोत नखुलेको रकमसहित २० जना छन् । 

राजश्व छली गरी सामाग्री ल्याएको भन्सारतर्फ १८ करोड भन्दा बढी रुपैयाँका विभिन्न सामाग्री बरामद भएको छ भने सवारी दुर्घटनामा २९२ तथा विपद् घटनामा परी २५३ गरी ५४५ जनाको मृत्यु समेत चालू भएको जानकारी प्रदेश प्रहरी प्रवक्ता तुलबहादुर कार्कीले दिए ।

उनका अनुसार, राजनीतिक कार्यक्रमतर्फ जनमत पार्टीले १३३ वटा कार्यक्रम आयोजना गरेको थियो, जसमा अराजक गतिविधि गरेको आरोपमा १२९ जना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये १०६ जना रिहा भइसकेका छन भने २३ जनामाथि मुद्दा दायर कारवाही प्रक्रिया अघि बढाइएको छ ।

चालु आ.ब. ७६१ वटा विपद् घटना भएका छन् जसमा १९ करोडभन्दा बढी रकमको धनमाल क्षति भएको छ भने महिला, पुरुष र बालबालिका गरी २५३ जनाको मृत्यु, १९० जना घाइते र ८ बेपत्ता भएका छन् ।
 


Author

थप समाचार
x