अपराध

उखुबारीमा गाडिएको शव प्रकरण ः एकको सनाखत,अर्कोको पहिचान खुल्न बाँकी

बाबुराम भण्डारी |
माघ १४, २०७८ शुक्रबार ९:१८ बजे

विराटनगर -  मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित बोर्डिङ टोल नजिकै रहेको उखुबारीमा खाल्डो खनेर गाडिएका दुईवटा शवमध्ये एउटा शव सुनसरीको धरान उपमहानगरपालिका–३ का राजेन्द्र कुमार श्रेष्ठको भएको प्रहरीले पहिचान गरेको छ ।

 शव बिहीबार उखुबारीमा खाल्डो उत्खनन् गर्दा भेटिएको थियो । उखुबारीमा शंकास्पद खाल्डो देखेपछि उखु काट्न गएका स्थानीय र मजदुरहरुले अन्य गाउँलेलाई खबर गरेका थिए।


त्यसपछि प्रहरीले जानकारी पाएर खाल्डोमा उत्खनन् गर्दा एउटा खाल्डोबाट बुधबार नै शव निकालिएको थियो । बिहीबार भेटिएको शव र सँगै रहेको कपडामा परिचय खुल्ने सवारी चालक अनुमतिपत्रसहितको पर्स र सिमकार्ड भेटिएको प्रहरीले जनाएको छ । सोही परिचयको आधारमा प्रहरीले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

फेला परेका कागजपत्रका आधार अनुसन्धान गर्दा घर धरान भई हाल भक्तपुर बस्दै आएका मृतक ४९ वर्षीय श्रेष्ठ नै भएको खुलेको उनले जानकारी दिए । श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसहित बस्दै आएको खुलेको छ । उनी करीव २० दिन अघि आर्थिक व्यवहार मिलाउन जाने भन्दै काठमाडौंबाट हिडेका थिए ।

घरान छाड्नुअघि उनी त्यहाँ सुन पसल गर्ने गरेको जनाइएको छ । उनी करिब तीन सातादेखि परिवारको सम्पर्कमा नरहेपनि अहिलेसम्म कसैले पनि खोजीका लागि प्रहरीलाई उजुरी वा जानकारी नगराएको पाइएको छ ।

उखुबारीमा सात फिट गहिरो खाडलमा पुरिएको अवस्था दुईवटा शव भेटिएका थिए । बुधबार उत्खनन् गरी निकालिएको शवको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुबै शव हत्यापछि पोल खुल्ने डरले गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव गाडिएका खाल्डोको दुरी करिब ३० मिटर वरपर रहेको जनाइएको छ । प्रहरी उपरीक्षक जिसीले दुबै शवलाई पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा पठाइएको बताए ।

घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । बिहीबार घटनास्थलमा तालिमप्राप्त कुकुरकोसमेत सहायताले अनुसन्धान अघि बढाइएको थियो ।

थप अनुसन्धान जारी रहेको जिसीले बताए । खाल्डोमा शव छिटो गलाउन नुन हालेको पाइएको प्रहरीले जनाएको छ । नुनकै कारण शव निकै सडेको पाइएको स्थानीयले जानकारी दिए ।

मृतकहरुको दुवैजनाको शव गाड्दा खनिएको खाल्डो मिलाएर खनिएको पाइएको छ । शवलाई खाल्डोमा घुँडा टेकाएर राखिएको र माथिबाट माटोले पुरिएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x