अपराध

लागुऔषध ओसारपसारमा संलग्नहरू प्रहरी नियन्त्रणमा

इकागज |
माघ १७, २०७८ सोमबार १२:४७ बजे

काठमाडौं–प्रहरीले विभिन्न स्थान  र समयमा लागुऔषध ओसारपसारमा संलग्नहरूलाई नियन्त्रणमा लिएका छ । पछिल्लो दिन प्रहरीले कपिलवस्तु, सुनसरी, सुर्खेत, मोरङलगायतका जिल्लाबाट लागुऔषधसहित ओसारपसारमा संलग्न भएकाहरूलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार कपिलवस्तु नगरपालिका–२ बर्गदवाबाट ललितपुर महालक्ष्मी नगरपालिका–१ ईमाडोल बस्ने ३२ वर्षीय अरुण मोक्तानलाई करिब ३ ग्राम ५ सय ८० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । बा.७४ प ६८४९ नम्बरको मोटरसाइकलमा सवार अरुणलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । 


त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका–१३ शिवधाराबाट करिब २० ग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २९ वर्षीय भरत मगरसमेत ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । संघीय प्रहरी ईकाइ कार्यालय धरान, ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी सो कोठामा बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो । 

साथै घटनाको थप अनुसन्धानको क्रममा धरान उपमहानगरपालिका–१९ बस्ने २६ वर्षीय जनम मगरलाई करिब ४ ग्राम, सोही उपमहानगरपालिका–३ बस्ने २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजिव मगरलाई करिब ७ ग्राम गरी थप ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ । 

सुर्खेत, भेरीगंगा नगरपालिका–१० तोलिखोला रत्न राजमार्गबाट नियन्त्रित लागूऔषध ८ सय ८५ ट्याब्लेट नाईट्राभेट र १ हजार दरका ९ थान नक्कली नेपाली नोट सहित वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २६ वर्षीय आसिस बैगारसमेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००२००१ ख ००६३ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूको साथबाट उक्त लागुऔषध र नक्कली नोट फेला पारी पक्राउ गरेको हो । 

त्यसैगरी, मोरङस्थित जहदा गाउँपालिका–२ हरीनगराबाट करिब ५६ केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । उक्त स्थानबाट भारततर्फ गाँजा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजा लोड भएको ४ वटा बोरा सोही स्थानमा छोडेर अपरिचित व्यक्तिहरू फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 


Author

थप समाचार
x