अपराध

ब्राउनसुगरसहित ४ पक्राउ

इकागज |
माघ १८, २०७८ मंगलबार १२:४५ बजे

काठमाडौं–प्रहरीले विभिन्न स्थानबाट ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ । झापा, कास्कीलगायतका स्थानबाट ब्राउनसुगर ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीकाअनुसार झापास्थित मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–११ का सेवन उराउलाई प्रहरीले पक्राउ गरेको हो ।  झापा प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उराउलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 


यसैगरी झापाकै अर्जुनधारा नगरपालिका–३ गडुल चौकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १२ हजार ५ सय ५ रुपैयाँ सहित सोही नगरपालिका–३ का  प्रेमबहादुर कुमाल पक्राउ परे। अस्थायी प्रहरी पोष्ट खुदुनाबारीबाट खटिएको प्रहरीले उनलई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, पोखरा महानगरपालिका–६ लेकसाईडस्थित सडकबाट करिब १३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र २ थान मोबाइल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तमा नगरपालिका–२१ बुधवारे बस्ने २१ वर्षीय सुमन रौतार थारु र पाल्पा रिब्दिकोट गाउँपालिका–८ बस्ने सोमर रायमाझी रहेका छन् । 

उनीहरूले पोखरा नगर क्षेत्रका बिभिन्न स्थानमा अवैद्य लागूऔषध ब्राउन सुगरको खरिद, बिक्री गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले दुवैलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 


Author

थप समाचार
x