अपराध

मोरङको उखुबारी हत्याकाण्ड-

व्यवसायिक साझेदारबाटै हत्या, एकै व्यक्तिले तीन जनाको हत्या गरेको प्रहरीको दाबी

इकागज |
माघ २१, २०७८ शुक्रबार १२:५८ बजे

विराटनगर- मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखुबारीभित्र हत्या गरी खाल्डो खनेर गाडेका दुवै जनाको हत्यामा संलग्न उनीहरुकै व्यवसायिक साझेदार भएको खुल्न आएको छ । 

व्यवसायिक साझेदार अनिल कुमार मण्डलले नै मोहन लिम्बु, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरीको हत्या गरेको खुलेको छ ।  लिम्बुलाई काठमाडाै‌ँकाे गाेदावरीमा र श्रेष्ठ र चाैधरीलाई विराटनगरमा हत्या गरेकाे खुलेकाे हाे । 


६३ वर्षीय लिम्बुलाई गत मंसिर २८ गते हत्या गरी ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलस्थित भाडामा लिएको गोदाम घरको कम्पाण्डभित्र मण्डलले खाल्डो खनेर गाडेको जनाइएको छ । 

तेह्रथुमको संक्रान्ति घर भई काठमाडौँ महानगरपालिका–८ गोठाटार बस्दै आएका लिम्बुको हत्यापछि मण्डलले राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरीको हत्या गरि मोरङ धनपालथान–७ स्थित दिलिप सिंहको उखुबारीभित्र शव गाडेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

हत्याकाण्डको प्रारम्भिक अनुसन्धानपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक जिसीले तीनवटै घटनामा सिरहाको सिरहा नगरपालिका घर भई काठमाडौँ–१४ बल्खु बस्ने ३१ वर्षीय मण्डलकै संलग्नता रहेको खुलेको बताए।

मण्डलले व्यवसायिक रुपमा साझेदार रहेका तीन जनाको हत्या गरी सम्पति एकलौटी बनाउने उद्देश्य राखेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

गोदावरीमा लिम्बुको हत्या गरेपछि मण्डलसहित श्रेष्ठ र चौधरी ०७८ मंसिर २९ गते विराटनगर आएर होटलमा बसेको खुलेको छ । मण्डलकै योजनामा श्रेष्ठ र चौधरीलाई शव गाडेको उखुबारीभन्दा एकसय मिटर उत्तरपट्टी नहरमा हत्या गरी दक्षिणपट्टी रहेको उखुबारीमा शव गाडेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न रहेका मण्डलसहित मोरङकै जहदा गाउँपालिका–४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई शुक्रबार मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकिएपनि पक्राउ परेका व्यक्तिहरु र हत्या भएका व्यक्तिहरु बीचका व्यवसायिक कारोबारको अवस्था लगायतका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रहरीले हत्याका क्रममा प्रयोग गरिएका खन्ती, कोदालो, डोरी, गम्छालगायतका सामग्रीहरु समेत बरामद गरिसकेको जानकारी दिएको छ ।
 


Author

थप समाचार
x