१ करोड ६५ लाख धरौटीमा छुटेलगत्तै फेरि पक्राउ परे बख्रेल
काठमाडौं– विभिन्न अवैध गतिविधिमा संलग्न रहेको आराेपमा पक्राउ परेका सन्तोषचन्द्र बख्रेल थुनामुक्त भएका छन्। राजस्व ठगीलगायतको अभियोग लागेका उनलाई राजश्व अनुसन्धान विभागले धरौटीमा छाड्ने आदेश दिएको हो ।
विभागले उनलाई १ करोड ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा बानेश्वरले उनीसहितलाई पक्राउ गरेको थियो। राजश्व छलीको मदिरासहित उनलाई १४ माघमा पक्राउ गरिएकाे हो।
बख्रेलसहित पक्राउ परेका रविन पाख्रिनलाई १ करोड ३८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शैलेश पन्त र नारायणप्रसाद घिमिरेलाई चाहिँ ६ लाख रुपैयाँ धरौटी मागिएको छ।
मदिरामा राजस्व छलेको भन्दै पक्राउ परेको भोलिपल्टै उनी अन्य आपराधिक क्रियाकलापमासमेत संलग्न रहेको खुलेको थियो । अनुसन्धानका क्रममा प्रहरीले उनको नयाँबजारमा रहेको गोदाममा छापा मार्दा राजस्व छलीका अन्य सामथग्री बरामदसमेत गरेको थियो । गोदामबाट सुर्तीजन्य पदार्थ, कस्मेटिकलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नुअघि नै उनी फरार आरोपी थिए । करिब ववर्षदिनअघि लागुऔषध ओसारपसारको मुद्दा उनीविरुद्द दर्ता भएको् थियो । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी एवं सूचनाअधिकारी जीवनकुमार श्रेष्ठले २०७६ पुसदेखि नै उनी फरार रहेको जानकारी दिए ।
‘उनी महाशाखाले राजश्व छलीको मुद्दा चलाउनुअगावै फरारको सूचीमा थिए, उनको खोजी भइरहेको थियो,’ ब्यूरोका सूचनाअधिकारी श्रेष्ठले भने। उनका अनुसार २०७६ पुसमा करिब १४ लाख ७४ हजार ट्रामाडोल क्यापसुल बरामद गरिएको थियो। त्यसमा बख्रेलको पनि संलग्नता थियो ।
प्रहरीका अनुसार ट्रामाडोल नियन्त्रित औषधि हो। डाक्टरको प्रेस्किप्सनविना यसको बिक्री वितरण तथा सेवन गर्न पाइँदैन।
त्यस्तै करिब एक महिनाअघिको लागुऔषध ओसारपसारमा पनि उनी संलग्न रहेको प्रहरीको भनाई छ।
चार जनालाई राजश्व छलीको मदिरासहित काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई १४ माघमा पक्राउ गरेको थियो। पछि बख्रेलको गोदाममा छापा मारेर प्रहरीले अवैध सुर्तीजन्य पदार्थ र कस्मेटिक सामग्रीहरु बरामद गरेको थियो।
धरौटीमा विभागबाट छुटे पनि उनलाई औषधी व्यवस्था विभागले समातेको छ। बख्रेलको हकमा औषधि व्यवस्था विभागमा पनि अर्को मुद्दा भएकाले त्यता बुझाइएको हो। बख्रेल संलग्न रहेको लागुऔषध ओसारपसारमा प्रतिबन्धित औषधि पनि बरामद भएकाले उनलाई औषधी व्यवस्था विभागमा थप अनुसन्धानका लागि पठाइएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ।
विभागले बख्रेलविरुद्ध ५ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया