बच्चा चोर्ने गिरोहका तीनजना पक्राउ
जनकपुरधाम – धनुषा प्रहरीले एक बच्चा चोर्ने गिरोहलाई पक्राउ गरेको छ ।
बच्चा चोरी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा एक ७ महिने र अर्को २ वर्षको बच्चासहित एक पुरूष र दुई महिला गरी तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेकाहरूलाई जिप्रका धनुषाले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १० बस्ने संजित मुखियाकी ३५ वर्षीया श्रीमति मनिषा देवी मुखिया, औरही गाउँपालिका १ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमति किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ७ बस्दै आएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।
बुधबार साँझ करिब ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् ।
प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको बेला रातो र हल्का पहेलो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रूपैयाँ दिएर कुरमुरे किन्न पठाई ती ७ महिने बच्चालाई लिएर फरार भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा स्थानीयको सहयोगमा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम १९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा आरोपितहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।
मनिषाले आफ्नो बच्चा भनिएको २ वर्षीय नन्दनी मुखियालाई किरण सँगै पठाएर ७ महिने बच्चालाई लिएर भागेका थियो । मनिषाले आफ्नो बच्चा भनिएका २ वर्षीय नन्दनी पनि उनको छोरी नभई कतैबाट अपहरण गरेरै नै ल्याएको अनुसन्धानबाट खुलेको एसपी रजौरेले बताए । उनले नन्दनीको बारेमा पनि अनुसन्धान भइरहेको बताए।
पक्राउ परेका कृष्ण कुमारले मनिषासँग १३ हजार रूपैयाँ लिई बच्चा उपलब्ध गराउने सर्त राखेको कुरा अनुसन्धानमा खुलेकोसमेत एसपी रजौरे जानकारी दिए । के कति कारणले बच्चा अपहरण गरिएको भन्ने कुरा नखुलेपनि खरिद विक्री गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रजौरेले बताए । पक्राउ परेकाहरूमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया