अपराध

नक्कली प्रमाणपत्र देखाउने पशु चिकित्सकलाई कारबाही

इकागज |
माघ १, २०७७ बिहीबार १२:५८ बजे

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र देखाएर पशु चिकित्सकको नाममा दर्ता गर्न आउने एकजनालाई नेपाल पशु चिकित्सक परिषद्‍ले कारबाही गर्ने भएको छ । परिषद्‍ले कारबाहीका लागि प्रहरीमा लेखी पठाएको छ ।

सर्लाहीका अर्नाह गाउँपालिका वडा नम्बर ५ निवासी लक्ष्मण सिंहले नक्कली प्रमाणपत्र पेश गरेको पाइएको हो । उनले पशु चिकित्सकको रुपमा नाम दर्ताका लागि आवेदन दिएका थिए । परिषद्‍ले छानबिन गर्दा उनले  बंगलादेशको हाजी मोहम्मद दानेस युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा सन् २००९/१० को शैक्षिक सत्रमा भर्ना भई दोस्रो वर्षमै अध्ययन छोडेको पाइएको छ ।


डक्टर अफ मेडिसिन कोर्सका विभिन्‍न सेमेस्टरहरूका नक्कली प्रमाणपत्रहरू तयार गरेको खुलेको छ । उनलाई कारबाहीका लागि नेपाल प्रहरीमा लेखी पठाएको परिषद्‍ले जानकारी दिएको छ ।

दर्तामा कडाइ

पशु चिकित्सा परिषद्‍मा दर्ता गर्नका प्रावधानहरू उल्लेख गरेको छ । मान्यता प्रात शिक्षण संस्थाबट पशु चिकित्सा विषयमा कम्तीमा बी भी एससी एन्ड ए एच वा बी भीएससी वा डीभीएम वा सो सरहको स्‍नातकोपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ । पशु चिकित्सा व्यवसाय गर्न चाहनेले स्वदेशी वा विदेशी पशु चिकित्सकले प्रमाणपत्र लिएर मात्र व्यवसाय गर्न पाउने भनिएको छ ।

पशु चिकित्सा तथा पशुपालन सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तहको अध्ययन गरेका दर्तावाल पशु चिकित्सकले विशेषज्ञ पशु चिकित्सकको रुपमा दर्ता गराउनुपर्नेछ ।

कुनै उद्योग. फर्म. व्यवसाय वा निकायले कुनै स्वदेगी वा विदेशी पशु चिकित्सकलाई पशु चिकित्सा सम्बन्धी व्यवसावमा लगाउनुअघि नाम दर्ता गर्ने छुट भएको भए यथाशीघ्र नाम दर्ता प्रक्रियामा सहभागी हुनका लागि परिषद्‍मा सम्पर्कमा आउनुपर्ने उल्लेख छ ।


Author

थप समाचार
x